News

जुटमिल डुबाएर ६९ बिघा जग्गा हत्याउने षड्यन्त्रमा सभामुखदेखि प्रमुख निर्वाचन आयुक्तसम्म

जुटमिल डुबाएर ६९ बिघा जग्गा हत्याउने षड्यन्त्रमा सभामुखदेखि प्रमुख निर्वाचन आयुक्तसम्म

काठमाडौं । देशको पहिलो उद्योग भनेर राष्ट्रले विराटनगर जुटमिलमाथि गर्व गर्छ, तर उद्योग आफै दयनीय अवस्थामा छ । राजनीतिक हस्तक्षेपले थला परेको उद्योगलाई उठाउने नाममा समेत पटकपटक भ्रष्टाचार भएको छ । राणाकालमै अर्थात् वि.सं. १९९३ मा स्थापना भएको उद्योग पटकपटक बन्द भयो, पटकपटक खुल्यो । पछिल्लोपटक अद्यावधिक गर्दा विराटनगर जुटमिल लिमिटेडको सेयर पुँजी एक करोड १० लाख रुपैयाँको थियो । प्रतिकित्ता एक सय ६० को हिसाबले यो रकमलाई गणना गर्दा ६८ हजार सात सय ५० कित्ता सेयर हुन आउँछ । तर, २ असोज ०७३ मा सञ्चालक समिति अध्यक्ष नीलहरि काफ्लेको अध्यक्षतामा बसेको बैठकले सेयर पुँजीको हिसाब गर्दा ६६ हजार ६ सय ८९ कित्ता मात्र फेला परेको दाबी गर्‍यो ।

 

अभिलेखमा नभेटिएको भन्दै दुई हजार ६१ कित्ता सेयर बिक्रीका लागि खुला गर्ने, तर त्यस्तो सेयर बहालवाला सेयरधनीले मात्र खरिद गर्न पाउने निर्णय गर्‍यो । कम्पनीको सेयरको मूल्य तोक्ने बैठकको अध्यक्षता गरेका काफ्ले आफैले पाँच सय चार कित्ता, सञ्चालक समिति सदस्य मुकुन्दप्रसाद नेपालले एक हजार तीन सय ७४ र दिवाकरराज पाण्डेले एक सय ८३ कित्ता सेयर लिए । यसरी सञ्चालक समितिमा रहेका सात सदस्यमध्ये तीनजना (काफ्ले, नेपाल र राजेन्द्र कार्की) मात्र सहभागी भएर सेयर बाँडफाँड गरे ।

 

चार महिनापछि ४ वैशाख ०७४ मा विराटनगर जुटमिलले विशेष साधारणसभा बोलाएको थियो । साधारणसभामा सात सदस्यीय सञ्चालक समितिमध्ये सरकारको प्रतिनिधित्व गर्ने तीन पदाधिकारी उपस्थित थिएनन् । सर्वसाधारण सेयरधनीका तर्फबाट अध्यक्ष नीलहरि काफ्ले, मुकुन्दप्रसाद नेपाल, फूलकुमार लालवानी र किशोर शाही उपस्थित थिए । जुटमिलको सेयर पुँजी एक करोड १० लाख रहेकोमा सोही साधारणसभाले ४० लाख मूल्यको सेयर थप गर्ने निर्णय गर्‍यो । यसरी मिलको चुक्ता पुँजी एक करोड ५० लाख रुपैयाँ पुर्‍याउने निर्णय भएको साधारणसभाको माइन्युटमै उल्लेख छ । 

 

थप गरिएको सेयरपुँजी हकप्रद सेयरका रूपमा निष्कासन गर्ने र प्रतिकित्ता एक सय ६० का दरले बिक्री गर्ने निर्णय भयो । हकप्रद सेयर बहालवाला सेयरधनीलाई मात्र बिक्री गर्न पाइन्छ । यसरी ४ वैशाख ०७४ को विशेष साधारणसभाले ४० लाख रुपैयाँबराबरको २५ हजार कित्ता सेयर बिक्री गर्ने निर्णय गर्‍यो । यो दिनसम्म तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महरा (हाल सभामुख) का जेठा छोरा निर्मल (एटम) र कान्छा छोरा रेशम (राहुल) को विराटनगर जुटमिलसँग कुनै साइनो थिएन । तर, भोलिपल्टै ५ वैशाखमा सञ्चालक समितिको अर्को बैठकले त्यसपछिको २२ वैशाखसम्म सेयर लिनेहरूलाई समेत संस्थापक मानेर हकप्रद सेयर दिने निर्णय गर्‍यो ।

 

यसरी सञ्चालक समितिले विशेष साधारणसभाको निर्णय मात्र उल्ट्याएन, त्यही दिन महरापुत्रहरू र सचिव थपलियाले अध्यक्ष काफ्लेबाट सेयर किनेको स्वीकृत गर्‍यो । त्यस्तै, गृह मन्त्रालयका तत्कालीन सहसचिव उद्धवप्रसाद तिमल्सिनाले पनि सोही दिन सेयर लिए । शिवहरि आचार्य र सुशीला पौडेलले पनि अध्यक्ष काफ्लेबाटै सेयर लिएको भन्दै स्वीकृत भयो । त्यस्तै, सञ्चालक समिति सदस्य राजेन्द्र कार्कीले बाबुराम खड्कालाई सोही दिन ५० कित्ता सेयर नामसारी गरिदिएको कागज बनाइयो । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

सभामुख प्रमुख निर्वाचन आयुक्त विराटनगर जुटमिल

विशेष