News

अध्यक्ष र व्यवस्थापकको मिलेमतोमा सहकारी संस्थाको ८९ लाख हिनामिना

अध्यक्ष र व्यवस्थापकको मिलेमतोमा सहकारी संस्थाको ८९ लाख हिनामिना

- राजु शर्मा


सप्तरी : सप्तरीको खडक नगरपालिका–१, सिस्वा बेल्हीस्थित साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकले सेयर सदस्यको नाममा किर्ते कागज गरी ऋण निकालेर करिव ८९ लाख रुपैयाँ हिनामिना गरेको फेला परेको छ ।

संस्थाका अध्यक्ष रामनारायण साह र व्यवस्थापक श्रवणकुमार साहको मिलेमतोमा उक्त रकम हिनामिना भएको हो । २१ जना सेयर सदस्यको नाममा ८५ लाख ४ हजार ५ सय ५२ रुपैयाँ संस्थावाट ऋण निकालिएको छ ।

२०६३ सालमै भएको उक्त घटना कतिपय सञ्चालक समितिकै सदस्यका कारण आन्तरिक सहमति गरी गुपचुप राखिएको थियो । तर, तोकिएको समयमा समेत रकम फिर्ता नभएपछि सेयर सदस्यले नै अध्यक्ष र व्यवस्थापकको गलत कृयाकलाप सार्वजनिक गरेका छन् ।

‘त्यतिवेला संचालक समितिका अधिकांश सदस्यले आन्तरिक रूपमै समस्या समाधान गर्नुपर्छ भनेपछि हामी पनि तयार दवाव पर्‍यौँ,’ सेयर सदस्य देवप्रसाद साहले भने– ‘तर, तोकिएको समयमा पनि उनीहरूले पैसा जम्मा नगरेपछि संस्था जोगाउँन घटना सार्वजनिक गर्नुपर्‍यो ।’

सेयर सदस्यको नाममा ऋण लिएको तथा संस्थामा जम्मा भएको रकम आफूले हिनामिना गरेको व्यवस्थापक साहले स्वीकार गरेका छन् । उनले आफूले गलत गरेको स्विकार्दै २०७५ साउन १६ गते लिखित कागज गरेर २०७५ पुस मसान्तभित्र ब्याजसहित रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए । उनले असुलीबाट जम्मा भएको ३ लाख ९४ हजार ६ सय १० रुपैयाँसमेत हिनामिना गरेको स्विकारेका छन् ।

अध्यक्ष रामनारायणले भने व्यवस्थापकको कृयाकलापमा आफ्नो सहमति नभएको जिकिर गरे।

व्यवस्थापकलाई करावहीको सिफारिस, भएन सुनुवाई

रकम हिनामिनाको विषयमा सेयर सदस्यहरुले खडक नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय सप्तरी र साना किसान विकास लघुवित्त संस्था इलाका कार्यालय जनकपुरलाई समेत उजुरी दर्ता गराएका छन् । सोही उजुरीका आधारमा साना किसान विकास लघुवित्त संस्था इलाका कार्यालय जनकपुरले साउनको दोश्रो साता नै व्यवस्थापकलाई २४ घण्टाभित्र निलम्बन गर्न पत्राचार गरेको थियो ।

यसैगरी, नगरपालिकाको कार्यपालिकाको बैठकले पनि श्रवणलाई १ महिना निलम्बन गर्ने र घटनाको छानबिन गर्ने निर्णय गरेको छ । तर, व्यवस्थापक साह अहिले पनि कार्यालयमा कार्यरत छन् ।

सञ्चालक समितिका अध्यक्ष साहले भने गाउँकै मान्छे भएकाले कारवाही नगरीएको बताए । ‘गाउँकै मान्छे हुन्, रकम असुल भइहाल्छ’ उनले भने–‘कारवाही गरिरहनुपर्छ भन्ने नलागेरै प्रकृया अगाडि नबढाइएको हो ।’

साना किसान विकास लघुवित्त संस्था इलाका कार्यालय जनकपुरका प्रबन्धक विशाल तुलाधरले पनि सहकारीमा ठूलै रकम हिनामिना भएको स्विकारे । व्यवस्थापकले हालसम्म पनि हिसाब दुरुस्त नबनाएकाले नगरपालिका कार्यालयले अनुसनधान गरिरहेको उनले जानकारी दिए ।

रकम हिनामिना

विशेष