नेपाल भारत संयुक्त आयोगको बैठक आजदेखि

नेपाल भारत संयुक्त आयोगको बैठक आजदेखि


काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक केहीबेरमा काठमाडौँमा सुरु हुँदै छ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँ आइसकेका छन् । बैठक दुई दिन चल्ने छ ।

आयोगको यसअघिको चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो । बैठकमा भएका निर्णय तथा प्रगतिको पुनरावलोकन गर्दै दुई देशको सम्बन्ध नयाँ बाटोमा अगाडि बढाउन काठमाडौँ बैठक महत्वपूर्ण रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 


आयोग गठन भएको ३२ वर्षपछि हुन लागेको पाँचौँ बैठकलाई स्वदेशी विदेशी कूटनीतिक क्षेत्रले विशेष महत्वका साथ लिएका छन् । अपराह्न ३ बजे उद्घाटनसँगै विदेशमन्त्रीस्तरीय आयोगको बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्कर नेपाल आउनुभएलगत्तै बैठक आरम्भ हुने छ । 


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करले संयुक्त अध्यक्षता गर्दै आयोगको बैठक शुभारम्भ हुने मन्त्रालयले बताएको छ । बैठक सञ्चालका लागि ३५ सदस्यीय प्रतिनिधिमण्डल गठन गरी कार्यविभाजन गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो । 


बैठकका कार्यसूचीमध्ये पहिलोमा राजनीतिक र सीमा सुरक्षा, दोस्रो सञ्चार सञ्जाल र आर्थिक समृद्धि, तेस्रो व्यापार र पारवहन, चौथोमा ऊर्जा र जलस्रोत तथा संस्कृति र विविध विषय रहने छ ।

यी मुख्य कार्यसूचीभित्र परेका रेल्वे लाइन, जलमार्ग, पेट्रोल पम्प लाइन, हुलाकी सडक, चेकपोस्ट स्थापना, नयाँ जलविद्युत् योजनालगायतका एक दर्जनभन्दा बढी नवीन विषयमा समझदारी र कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने गरी समझदारी हुने जनाइएको छ । 


नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकको सुरुआत सन् १९८७ देखि सुरु भएको थियो । त्यसको एक वर्षपछि सन् १९८८ मा पहिलो बैठक बस्यो । त्यसपश्चात् २४ वर्ष मौन बसेको बैठक सन् २०१४ मा तेस्रो र सन् २०१६ मा चौथो बैठक बसेर दुई देशको सहयोग र सम्बन्धलाई अगाडि बढाउँदै छ । 
भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री बन्नुभएपछि यसले थप निरन्तरता पाउँदै सन् २०१६ मा भारतमा चौथो बैठक बसेको थियो । 

एस जयशंकर नेपाल–भारत संयुक्त आयोग बैठक

संम्बधित खबर

विशेष