सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कारबाही गर्ने भरतपुर महानगरको चेतावनी (विज्ञप्तिसहित)
काठमाडौँ । भरतपुर महानगरपालिकाले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा घटनासँग असम्बन्धित पक्ष व्यक्तिको नाम लिएर जथाभावी लेख्नेविरुद्ध कडा कारबाहीको चेतावनी दिएको छ । महानगर प्रमुख रेनु दाहालले आज एक विज्ञप्ति जारी गर्दै पुडासैनी प्रकरणबारे यथार्थ छानबिन गर्न माग गर्दै दोषीउपर कारबाही र निर्दोष नफस्ने वातावरण गर्न आग्रह गरेको छ ।
घटनासँग असम्बन्धित व्यक्तिलाई जोडेर प्रदर्शन गर्ने तथा सामाजिक सञ्जालमा जथाभावी लेख्नेविरुद्ध कारबाही थाल्ने चेतावनी दिएको हो ।
महानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘‘घटनाको अनुसन्धानका क्रममा रहेका व्यक्तिहरुका विषयलाई लिएर कतिपय व्यक्तिहरुबाट सडक एवं सामाजिक सञ्जालको दुरुपयोग गरी घटनासँग कुनै सरोकार नै नभएका राज्यका उच्चपदस्थ नेतृत्व र भरतपुर महानगरका प्रमुखप्रति कपोलकल्पित, मनगढन्ते, अनर्गल एवं भ्रामक विचारहरु सम्प्रेषण गर्ने, अपशब्द एवं गाली गलौज गरी व्यक्तिको वैयक्तिक स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुःखद कुरा हो । ’’
महानगरले घटनाको निष्पक्ष छानबिनको माग गर्दै घटनालाई विषयान्तर नगर्न आग्रह गरेको छ । शालिकरामको अस्वभाविक मृत्युको कारणबारे छानबिन गर्नु राज्य र सरकारको दायित्व भएको महानगर प्रमुख रेनु दाहालको विज्ञप्तिमा उल्लेख छ ।