News

फिल्म हलमा अब राष्ट्रिय गान अनिवार्य

फिल्म हलमा अब राष्ट्रिय गान अनिवार्य

काठमाडौं । संविधान दिवसका दिनदेखि मुलुकभरका फिल्म हलले चलचित्र सुरु हुनुअघि अनिवार्य रूपमा राष्ट्रिय गान बजाउनुपर्ने भएको छ । असोज ३ मा संविधान दिवस मनाउनका लागि मूल समारोह समिति गठन गर्न बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारका सबैजसो मन्त्री र सचिवसहितको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा सम्पूर्ण फिल्म हललाई त्यस्तो निर्देशन दिएको हो ।

राष्ट्रिय गानको सम्मानमा सबै दर्शक अनिवार्य उभिनुपर्ने जानकारीसमेत गृहले दिएको छ । ‘बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा फिल्म हललाई संविधान दिवसका दिनदेखि अनिवार्य रूपमा सधैंलाई राष्ट्रिय झन्डा फहराउन र राष्ट्रिय गान बजाउन निर्देशन दिएको छ,’ गृह प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘राष्ट्रिय गानको मर्यादा राख्न सबै उभिनैपर्छ, त्यो भनिरहनै पर्दैन ।’

राष्ट्रिय झन्डा तथा राष्ट्रिय गान प्रयोगसम्बन्धी कार्यविधि २०६९ अनुसार सरकारले चलचित्र सुरु हुनुअघि राष्ट्रिय गान बजाउन अनिवार्य गरेको हो । ‘कुनै पनि राष्ट्रिय उत्सव वा विभिन्न औपचारिक कार्यक्रम तथा फौजी प्रकृतिका सामेली, सैन्य सम्मान, खेलकुद समारोह र विद्यालय प्रार्थनामा राष्ट्रिय गान गाउनुपर्ने छ ।

रेडियो र टेलिभिजनमा सम्पूर्ण कार्यक्रमको सुरुमा र अन्त्यमा राष्ट्रिय गान बजाउनुपर्ने छ । राष्ट्रिय गान अवधिभर सबैलाई उभिन अनिवार्य रूपले अनुरोध गर्नुपर्ने छ । सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रदर्शनका क्रममा कार्यक्रमको प्रारम्भ तथा समापनका समयमा राष्ट्रिय गान तथा धुन बजाए वा गाएमा उपदफा (१) बमोजिम सम्मान गर्नुपर्ने छ,’ राष्ट्रिय झन्डा तथा राष्ट्रिय गान प्रयोगसम्बन्धी कार्यविधि २०६९ मा भनिएको छ ।

कार्यविधिको उपदफा (१) मा ‘राष्ट्रिय गान या धुन बज्दा सबैले सतर्क अवस्थामा उभिएर शिर ठाडो गरी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनुपर्ने’ उल्लेख छ । पञ्चायतकालमा फिल्म हलमा राष्ट्रिय गान बज्दा दर्शक अनिवार्य उठ्नुपर्ने कानुनी व्यवस्था थियो । उठ्न नमानेमा प्रहरी या फिल्म हलका कर्मचारीले बाध्य पार्थे ।

सरकारले संघीय संसद्मा पेस गर्न तयार गरेको ‘चलचित्र क्षेत्रलाई व्यवस्थापन र नियमन गर्न बनेको विधेयक’ मा समेत सबै फिल्म हलले चलचित्र सुरु हुनुअघि अनिवार्य राष्ट्रिय गान बजाउनुपर्ने व्यवस्था गरेको छ ।

बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति र त्यस मातहत विभिन्न उपसमिति गठन गरेको छ । प्रवक्ता सुवेदीका अनुसार समितिले यस वर्ष राष्ट्रिय झन्डालाई उच्च प्राथमिकता दिएर संविधान दिवस मनाउने निर्णय गरेको हो । बैठकमा गृहसचिव प्रेमकुमार राईले विगतभन्दा फरक रूपमा कार्यक्रम थप गरी एकता, समृद्धि र अठोटको प्रतीक राष्ट्रिय झन्डालाई शिरमा राखेर दिवस मनाउने तयारी थालिएको जानकारी गराएका थिए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

राष्ट्रिय गान फिल्म हल

विशेष