मर्मत नगर्दा निगमलाई १६ करोड घाटा, २ नयाँ मेसिन किन्न पुग्ने पैसा स्वाहा
काठमाडौं । नेपाल एयरलायन्सका न्यारोबडी जहाजको इन्जिन स्टार्ट गर्ने मेसिन (एक्ज्यिुलरी पावर युनिट– एपियू) बिग्रिएको ६ महिनासम्म पनि मर्मत गरिएको छैन । दुईवटा न्यारोबडीमध्ये ‘लुम्बिनी’को एपियू २६ माघ ०७५ मा बिग्रिएको थियो । अर्को जहाज ‘सगरमाथा’को एपियू पनि १५ जेठदेखि बिग्रिएको छ । तर, दुवै जहाजको एपियू समयमा मर्मत गर्नुको सट्टा ग्राउन्ड पावर युनिट (जिपियू) चलाउने र भाडा लिने काम गरेर व्यवस्थापनले नेपाल एयरलायन्सलाई करिब १६ करोड घाटा गराएको स्रोतले जानकारी दिएको छ ।
‘दुईवटा जहाजमा दैनिक चारपटक जिपियू चलाउँदा, लुम्बिनी जहाजमा ल्याइएको एपियूको भाडा, भाडाको मेसिन जडान गर्न क्वालालम्पुर हुँदै सिंगापुर लैजाँदा–ल्याउँदाको इन्धन, उडान अनुमति, एयरस्पेस प्रयोगको शुल्क, पार्किङलगायतको खर्चसमेत गरेर करिब १६ करोड रुपैयाँ फजुल खर्च भएको छ,’ निगमको उच्च स्रोतले जानकारी दियो ।
एपियू जहाजको मुख्य इन्जिन स्टार्ट गर्ने र इन्जिन स्टार्ट हुनुअघि जहाजमा एयर कन्डिसनिङलगायत अन्य विद्युतीय उपकरण सञ्चालन गर्ने मेसिन हो । ‘अहिले अन्तर्राष्ट्रिय बजारमा नयाँ एपियू ८ करोड रुपैयाँभन्दा कम मूल्यमा नै पाइन्छ, तर नेपाल एयरलायन्सले भएको एपियू मर्मत नगरेर २ वटा नयाँ मेसिन किन्ने पैसा सकिसकेको छ,’ स्रोतले बतायो । अहिलेसम्म पनि एपियू मर्मत गर्न लगिएको छैन । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
नेपाल एयरलायन्स पैसा स्वाहा