News

आयल निगमको शोषणः खरिद मूल्यभन्दा दोब्बरमा तेल बेचेर १५ दिनमा ६० करोड नाफा !

आयल निगमको शोषणः खरिद मूल्यभन्दा दोब्बरमा तेल बेचेर १५ दिनमा ६० करोड नाफा !

काठमाडौं । आयल निगमले खरिद मूल्यको तुलनामा दोब्बर मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको छ । निगमले हाल प्रतिलिटर पेट्रोल ५४ दशमलव ०२ रुपैयाँमा किनेर उपभोक्तालाई १ सय ९ रुपैयाँमा बिक्री गरिरहेको छ । डिजेल र मट्टीतेल क्रमशः ६० दशमलव ६३ र ६० दशमलव ८० रुपैयाँ प्रतिलिटरमा किनेर समान ९७ रुपैयाँमा बिक्री गरिरहेको छ ।

खाना पकाउने एलपी ७५९ दशमलव ९४ रुपैयाँ प्रतिसिलिन्डरमा खरिद गरी १ हजार ३ सय ७५ रुपैयाँमा बिक्री गरिरहेको छ । हवाई इन्धन ५९ दशमलव ३६ रुपैयाँमा किनेर दुई थरी मूल्य निर्धारण गरेको छ । आन्तरिक विमान कम्पनीलाई ९४ दशमलव ५० रुपैयाँ प्रतिलिर र अन्तर्राष्ट्रिय विमानलाई १०५० डलर (प्रतिकिलोलिटर) मा बिक्री गरिरहेको छ ।

खरिद मूल्यमा ढुवानी, भण्डारण र प्रशासनिक खर्च जोडर बिक्री मूल्य कायम गर्नुपर्ने हो । तर, निगमले कहिल्यै लागत मूल्य सार्वजनिक गरेको छैन । निगमले चुहावट, अनियमितता र फजुल खर्च घटाएर पेट्रोलियम पदार्थको मूल्यमा उपभोक्तालाई राहत दिन विभिन्न कार्यदलले सुझाब दिए पनि निगमले अटेर गर्दै आएको छ ।

इन्धन आपूर्तिमा एकाधिकारको फाइदा उठाउँदै नेपाल आयल निगमले उपभोक्ताबाट खरिद मूल्यभन्दा दोब्बरमा तेल बेची दैनिक ४ करोड रुपैयाँ नाफा गरिरहेको छ । यही अनुपातमा नाफा गरे निगमको नाफा वार्षिक १५ अर्ब रुपैयाँ पुग्नेछ । भदौ १ देखि १५ गतेसम्म आयल निगमले ६० करोड रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले ३१ साउनमा पठाएको नयाँ मूल्य सूचीअनुसार आधा महिनामा ६० करोड नाफा हुने प्रक्षेपण गरिएको हो । आइओसीले इन्धनको मूल्य घटाएर पठाए पनि निगमले घटाउने लक्षण देखाएको छैन । ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढिरहेकाले मूल्य समायोजन नगर्ने,’ निगमले जनाएको छ । 

चार वर्षअघिसम्म ३५ अर्ब सञ्चित नोक्सान रहेको निगमले उक्त घाटा पूर्ति गरी करिब ३० अर्ब रुपैयाँ सञ्चित नाफा कमाइसकेको छ । त्यसबीचमा ३७ अर्ब रुपैयाँ ऋणसमेत तिर्‍यो । आर्थिक वर्ष ०७५र७६ मा मात्रै १० अर्ब रुपैयाँ नाफा कमाएको थियो ।  यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

आयल निगम पेट्रोलियम पदार्थ

विशेष