News

भारतीय गाडी नियन्त्रण गर्न प्रहरी अभियान

भारतीय गाडी नियन्त्रण गर्न प्रहरी अभियान

वीरगन्ज । पिबि२२एन १५२७ नम्बरको टाटा जिस्ट कार जाँचका क्रममा पर्सा प्रहरीले नियन्त्रणमा लियो। अनुसन्धानपछि उक्त नम्बरमा भारतमा स्कुटर दर्ता रहेको फेला पर्यो। अर्को डब्लुबिडी ९६६८ नम्बरको जिप पनि प्रहरीले फेला पारेको छ। सो गाडी चोरी भयो भनेर भारतमा गाडीधनीले बिमा कम्पनीबाट क्षतिपूर्तिसमेत असुलिसकेको रहस्य खुलेको छ।

 

निर्वाचित जनप्रतिनिधिदेखि तस्कर, अपराधी, उद्योगी–व्यापारीसम्मले प्रयोग गर्न थालेपछि सीमावर्ती क्षेत्रमा भारतीय नम्बरका गाडीको बिगबिगी बढेको छ। यसरी सीमावर्ती क्षेत्रमा भारतीय नम्बरका गाडीको बिगबिगी गर्न पर्सा प्रहरीले विशेष अभियान नै सञ्चालन गरिरहेको छ। सोही क्रममा यी भारतीय गाडी समातिएका हुन्।

 

चालु आर्थिक वर्षको १० दिनमा पर्सा प्रहरीले चोरीका समेत गरी १४ वटा भारतीय नम्बर प्लेटका गाडी नियन्त्रणमा लिएको छ। ‘एउटा गाडी उता चोरी भयो भनी बिमाको रकम उठाएर यता नेपालमा ल्याई भाडामा चलाउँदै गरेको पाइयो, भारतीय स्कुटीको नम्बर हालेर यता कार चलाइरहेको पनि भेटियो,’ पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने, ‘विभिन्न खाले अपराध र बेथिति रोक्न अहिले भारतीय नम्बरका सवारीसाधनहरूलाई विद्यमान नियमको दायरामा ल्याउन प्रयास थालेका छौं।’

 

नियमअनुसार भन्सारमा प्रज्ञापन भरेर भित्रिनुपर्ने भारतीय नम्बरका सवारीसाधन राजस्व छली सीमावर्ती क्षेत्रमा छ्यापछ्याप्ती भएपछि सुरक्षा सतर्कतास्वरूप नियन्त्रण गर्नुपरेको प्रहरीको तर्क छ। स्थानीय नेताहरूले भने प्रहरीको यो अभियानलाई रुचाएका छैनन्। विगतमा अपहरण, गोली प्रहार, काठमाडौंसम्म लागूऔषध ओसारपसार तथा हातहतियार ओसारपसार, तस्करीजस्ता घटनाहरूमा भारतीय नम्बरका गाडीहरू प्रयोग भएको हामीसँग विगतको रेकर्ड छ,’ प्रहरी उपरीक्षक राठौरले भने, ‘भारतमा सवारीसाधनको चोरीका घटना बढेपछि त्यताका सुरक्षा संयन्त्रले समेत हामीसँग यसमा निगरानी राख्न आग्रह गरेका छन्।’ यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

भारतीय गाडी स्कुटर दर्ता प्रहरी अभियान

विशेष