News

प्रदेश ३ : काठमाडौंसहित ५ जिल्लामा डेंगुका बिरामी

प्रदेश ३ : काठमाडौंसहित ५ जिल्लामा डेंगुका बिरामी

मकवानपुर । देशको पाँचवटा जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । हेटौंडामा पहिलो पटक देखिएको डेंगु चितवन हुँदै, काठमाडौं, ललितपुर र भक्तपुरमा समेत फेला परेको स्वास्थ्य निर्देशनालयका निर्देशक शम्भुप्रसाद ज्ञवालीले जनाए । उनका अनुसार हालसम्म मकवानपुरमा २८७ जना, चितवनमा १५१, काठमाडौंमा ११६, ललितपुरमा तीन र भक्तपुरमा एक जनामा डेंगु संक्रमण भेटिसकिएको छ ।

प्रदेशभर डेंगु संक्रमणको दर बढेसँगै प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले यस क्षेत्रका चिकित्सक तथा अनुसन्धानकर्तासँग आकस्मिक बैठक गरी न्यूनीकरणको प्रयास गर्न निर्देशन दिएका छन् । ‘प्रदेशका १३ मध्ये पाँच जिल्लामा देखिसकिएको छ । यसलाई न्यूनीकरण गर्नुको विकल्प छैन । डेंगुको औषधि प्रयोग गरेर निको नहुने अवस्थामा सामाजिक चेतना बढाउनुको विकल्प देखिएन,’ मन्त्री दुलालले भने ।

निर्देशनालयका निर्देशक ज्ञवालीका अनुसार चितवनको भरतपुर महानगरपालिकाले डेंगु नियन्त्रणका लागि आवश्यक बजेट उपलब्ध गराइदिन मन्त्रालयसँग माग गरेको बताए । ‘डेंगुको नियन्त्रण स्प्रे छरेर वा औषधि खुवाएर हुने होइन । यो सचेतनाबाट न्यूनीकरण हुने हो । त्यसकारण सोहीअनुसार गर्न हामीले सुझाएका छौं,’ उनले भने । पछिल्लो अनुसन्धानबाट प्रदेशभर फैलिएको डेंगु प्लास्टिकमा जमेको पानी र टायरभित्र रहेको पानीबाट उत्पादन भएको लामखुट्टेको टोकाइबाट फैलिएको पाइएको उनले बताए ।

निर्देशनालयले आवश्यकअनुसार डेंगु परीक्षण गर्ने किटको अभाव देखिएकाले चिकित्सकका सल्लाहअनुसार सरकारीस्तरबाट स्वीकृत प्राप्त किटबाट मात्र परीक्षण गर्न आग्रह गरेको छ । ‘निजी क्लिनिकले कमसल किटबाट डेंगु परीक्षण गरेको पाइएकाले सचेत रहन आग्रह गर्दछौं,’ ज्ञवालीले भने । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

डेंगु प्रकोप

विशेष