रवि लामिछानेलगायत तीनजना विरुद्ध मुद्दा
आत्महत्या दुरुत्साहन कसुरमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेसहित तीन जनाविरुद्ध चितवन सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । प्रतिवेदन अध्ययनपछि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा पेश गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पुर्याएपछि अध्ययन गरेर जिल्ला अदालतमा यी तीनबिरुद्ध मुद्दा दर्ता गरिएको हो ।
थुनछेकको आदेशले पुर्पक्षका लागि थुनामा राख्ने वा साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने मध्ये एउटा आदेश हुनेछ ।
पत्रकार पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भनिएको भिडियोमा लामिछाने, कँडेल र कार्कीका कारण मर्न बाध्य भएको उल्लेख गरेका थिए ।