आफू मरेर बच्चा हुर्काउँछ अक्टोपस
एउटा यस्तो समय थियो, जुनबेलाका कथाहरुमा राक्षसी अक्टोपसका डरलाग्दा व्यवहारको चित्रण गरिएका हुन्थे । अक्टोपसले आफ्ना आठवटा हातले ठूलाठूला पानीजहाजलाई चारैतिरबाट च्यापेर मानिसलाई किरा फट्याङ्ग्रा झैं टिपेर मिल्काउँथे । अन्तत : जहाज डुबाई दिन्थे । यस्ता धेरै कथाहरु रोमाञ्चक भएका कारण लोकप्रिय भए । कालान्तरमा अक्टोपसलाई एउटा डरलाग्दो आक्रामक जीवका रुपमा लिन थालियो । तर वास्तविकता यसको ठीक विपरित छ । वास्तवमा अक्टोपस लजालु , बुद्धिमान र आफ्ना बच्चाहरुलाई अति नै माया गर्ने स्वभावको हुन्छ । यो आलेखमा अक्टोपस जातिको सबैभन्दा ठूलो राक्षसी अक्टोपसका बारेमा केही जानकारी लिउँ ।
अक्टोपस पानीमा बस्ने एउटा जीव हो । यसका आठ वटा लामा लामा हात हुन्छन् । जसलाई टेन्टासेल्स भनिन्छ । यही आठ वटा हातका कारण यस जीवलाई अक्टोपससले चीजबीज तथा जीवहरुलाई समात्न उपयोग गर्नाका साथै चुस्नका लागि पनि उपयोग गर्दछन् । यो जीवको सुगाको झैं एउटा चुच्चो पनि हुन्छ । जसले यसलाई जिस्काएको वा पीडा दिएको खण्डमा यदाकदा मानिसलाई टोकेको पनि पाइएको छ । राक्षसी अक्टोपसको वैज्ञानिक नाम अक्टोपस डोफेलिनी हो । बमहिरबाट हेर्दा यस जिीवका सवै भाग टाउकोबाट सीधै निस्किए झैं लाग्छ ।
राक्षसी अक्टोपस कतिसम्म ठूलो हुन्छ भनेर आजसम्म पत्ता लाग्न सकेको छैन् । वयस्क भाले अक्टोपसको वजन लगभग २३ किलो जति हुन्छ । पोथी लगभग १५ किलो मात्र हुन्छ । यसका हात झण्डै ८ फिट लामा हुन्छन् । पश्चिमी क्यानाडामा सन् १९५९ मा भेटिएको एउटा अक्टोपसको वजन २ सय ७२ किलो थियो । त्यसका हात ३१ मिटर लामा थिए । यही नै राक्षसी अक्टोपसको फेला पारिएका मध्ये सर्वाधिक ठूलो हात हो । राक्षसी अक्टोपसको बसोबास क्यालिफोर्नियादेखि उत्तर अलास्कासम्मका समुद्री तटहरु तथा पूर्वी एशियाको जापानसम्म प्रशान्त महासागरीय क्षेत्रमा रहेको पाइएको छ ।
यसले डग फिस जातिका ससाना सार्क माछालाई आफ्नो आहार बनाउँछ । यो राक्षसी अक्टोपस आक्रामक हुँदैन बरु यसले मरेका, सडेगलेका जीव खाएर आफ्नो जीवन यापन गर्दछ । यसमा पनि मुख्यत गँगटा र शंखेकिरा पर्दछन् । राती आफ्नो खानाको खोजीमा निस्किएर आहार भेट्टाएमा यसले आहारलाई आफ्नो बासस्थानमा लिएर जान्छ ।
जीव वैज्ञानिकहरुद्वारा गरिएका विभिन्न अन्वेषण परीक्षणबाट के पत्ता लागेको छ भने यी जीव एकदमै सरल तथा आफैंमा रम्ने स्वभावका हुन्छन् । यसको स्वभावलाई अध्ययन गरिँदा आफ्नो सीमाना, आक्रामक, डर, उत्सुकता आदिका बारेमा विभिन्न तथ्य पत्ता लागेका छन् । प्रायजसो सवै जीव वैज्ञानिकहरु के निष्कर्षमा पुगेका छन भने यो जीव घरपालुवा विरालो जत्तिक्कै बुद्धिमान छ ।
अब एकैछिन यसले शिकार वा आफ्नो आहारा कसरी खोज्छ भनेर जानकारी लिऊँ । सबैभन्दा पहिले यसले चारैतिर नियाल्छ । त्यसपछि आफ्नो शरीरको झोलाजस्तो भागमा विस्तारै पानी भर्न थाल्छ । झोलामा पानी भरिसक्दा अक्टोपसको स्वरुप भयंकर भइसकेको हुन्छ । अनि विस्तारै समुद्र पींधमा पौडन थाल्छ । कहिलेकाहीँ मात्र यसले आफ्ना हातले समुद्री पींध छुन्छ । अक्सर माथि माथि नै पौडन्छ । शिकार देख्नासाथ यसले आठैवटा हात फिँजाएर माथिबाट छोप्छ । अनि आफूभित्र रहेको विषलाई पानीमा फिजाउँछ । त्यस विषले शिकार लठ्ठ भएपछि आफ्नो चुच्चोले शिकारको कडा भाग भाँचेर आहार गर्छ ।
अक्टोपसले आफ्ना आठ वटा हातको बीचमा रहेको छालालाई उपयोगमा ल्याएर एक दर्जन बढी गँगटा बोकेर आफ्नो बासस्थानसम्म सजिलै पुर्याउन सक्छ । अक्टोपसको गुफा वरिपरि थुप्रिएका एबालोन अर्थात माछाको कान खाने गर्छ । ठूलो अक्टोपसले सानोलाई खानु सामान्य मानिन्छ । तर केही खान नपाएको स्थितिमा अक्टोपसले आफ्नै हात खानु चाहिँ आश्चर्यजनक मानिन्छ । यी दृश्य प्राकृतिक संग्रहालयमा देख्न पाइन्छ । खाएको हात केही समयपछि पलाएर जस्ताको तस्तै हुन्छन् । कुनै कुनै जीवले अक्टोपसको हात समात्दा ती माउसुलीको पुच्छरजस्तो चुँडिन पनि सक्छन् । यसले उसको दैनिकीमा कुनै प्रभाव पर्दैन । बरु सात वटा हात लिएर ऊ कुलेलम ठोक्छ । व्हेल माछा, डल्फिन, सीललगायतका ठूला माछा प्रजातिले अक्टोपसको शिकार रुचाउँछन् ।
दुश्मनले आक्रमण गरेको खण्डमा अक्टोपसले एकप्रकारको कालो मसी पानीमा फैलाउँछ । पहिले पहिले यसलाई पानी धमिल्याउने तत्वको रुपमा लिइन्थ्यो । तर यसको अलग उद्देश्य रहेको छ । भनिन्छ, यो मसी पानीमा घुलिँदा यसले अक्टोपसकै आकार ग्रहण गर्छ । जसले गर्दा दुश्मन पानीमै अल्मलिरहन्छ । वास्तविक अक्टोपस चाहिँ डाँडा काटिसकेको हुन्छ ।
छेपारो झैं अक्टोपसले आफ्नो रंग क्षणभरमै फेर्न सक्छ । आफूलाई सेतो देखाएर आफ्नो वास्तविक रंग गाढा रातोमा परिवर्तित हुन यसलाई एकैछिन मात्र लाग्छ । खतराको चाल पाउनासाथ आफ्नो वरिपरिको वातावरणमा भएको रंगमा आफूलाई परिवर्तन गर्छ । अक्टोपसकै अनुसन्धानमा बर्षौंदेखि काम गरिरहेकाहरु पनि यस्तो अवस्थाबाट अल्मलिन्छन् । सबै राक्षसी अक्टोपस सामान्य अवस्थामा उस्तै देखिन्छन् । त्यसैले गोताखोरहरुले एउटै अक्टोपसलाई त्यही गुफामा १० वर्षदेखि देख्दै आएको बताउँछन् । तर वास्तविकता यो छ कि अक्टोपसको अधिकतम आयु चार वर्ष हुन्छ ।
अब यिनीहरुको जीवनचक्रका बारेमा पनि केही जानकारी लिउँ । भाले र पोथी अक्टोपसबीचको समागम जुन घण्टौंसम्म लाग्न सक्छ । त्यसपछि पोथी आफ्नो गुफातिर लाग्छे । त्यहाँ पोथीले झण्डै असी हजार अण्डा पार्छे । जुन गुफाभित्रको ढुंगा च्यापमा मालाझैं झुण्डिएर रहन्छन् । एउटा मालामा डेढदेखि दुईसयसम्म अण्डा हुन्छ । अण्डा धानको गेडा झैं आकारको हुन्छ । अण्डा विस्तारै विकसित हुँदै आउँछन् । अण्डामा सबैभन्दा पहिले आँखाको दृश्य देखिन्छ ।
समय पुगेपछि विकसित भएर अण्डाबाट उछिटिएका साना अक्टोपस पानीको पीँधमा पुग्छन् । अनि ससाना समुद्री विरुवा खाएर बढ्न थाल्छन् । यदि यी अक्टोपस वयस्क कालसम्म बाँच्न सके भने आफू जन्मेको अवस्थाभन्दा झण्डै लाखगुना ठूलो आकारका हुन्छन् । तर दुर्भाग्यवश सबै अक्टोपस वयस्क कालसम्म पुग्न सक्दैनन् । ८० हजार अण्डामध्ये एउटा माला अण्डा अर्थात लगभग दुईसय अक्टोपस मात्र वयस्क कालसम्म पुग्न समर्थ हुन्छन् ।
अण्डाको सुरक्षामा पोथी अक्टोपस हरदम जुटिरहेकी हुन्छे । आफ्ना हातले अण्डामा पानी छ्याप्नुका साथै अरु नचाहिँदा वस्तु हटाउने काममा लागिरहेकी हुन्छे । शत्रुले अण्डा खाइदेला भन्ने त्रासले चौबीसै घण्टा पहरा दिनु परेका कारण पोथी अक्टोपस केही खान पाउँदिन । ६ महिना बढी पोथीले केही नखाएर अण्डाको रक्षा गर्छे । भोकका कारण धेरै पोथी अक्टोपसले ज्यान गुमाउँछन् ।
अन्य समुद्री प्राणी झैं अक्टोपसलाई पनि सामुद्रिक भोजनको रुपमा मानिसले उभोग गर्दछ । त्यसैले यसलाई पक्रन विभिन्न उपाय लगाइन्छ । बल्छी प्रयोग गरेर समुद्रको पींधमा रहेको अक्टोपसलाई समुद्री सतहमा ल्याउन प्रेरित गरन्छि । अझ माझीले क्लोरिन पाउडर प्रयोग गरेर अक्टोपसलाई पानीको सतहमा ल्याउँछन् । क्लोरिनको गन्ध सहन नसकेर अक्टोपस छटपटिँदै बाहिर निस्कछ । यही मौकामा यिनीहरुलाई पक्रने गरिन्छ ।
अक्टोपस काठको बाकसमा बस्न मन पराउँछ । त्यसैले पानीको तल्लो सतहमा बक्सा राखेर अक्टोपस समात्ने प्रचलन पनि छ । माछा मार्दा भने यिनीहरु सुरक्षित नै हुन्छ । किनकी माछाभन्दा यिनीहरु कैयौं गुना पानीको पीँधमा हुन्छन् । विश्वकपमा अक्टोपसलाई भविष्यवेत्ताका रुपमा समेत उपयोग गरियो । खासगरी जर्मनीले यस्तो अभ्यास गरेको थियो । जे होस अहिले विश्वमा सामुद्रिक खान्कीका रुपमा मानिसले अक्टोपसको भोजनलाई अत्यधिक रुचाउने गरेका छन् ।