News

देशभर २३ हजार कर्मचारीको दरबन्दी रिक्त

देशभर २३ हजार कर्मचारीको दरबन्दी रिक्त

काठमाडौं । समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारीको दरबन्दी रिक्त छ । संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा लोकसेवा आयोगको भर्ना प्रक्रियामा रहेकाबाहेक २३ हजार १ सय ७५ जनाको दरबन्दी खाली रहेको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संघमा ८ हजार ४ सय ४९, प्रदेशमा ८ हजार ४ सय ३६ र ७ सय ५३ स्थानीय तहका लागि १५ हजार ४ सय ५१ दरबन्दी खाली छ । ४ देखि १० तहसम्मका कर्मचारीको दरबन्दी रिक्त रहेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये ९ हजार १ सय ६१ कर्मचारी भर्ना प्रक्रियामै छन् ।

गत चैतमै सरकारले संघमा ३९ हजार ९ सय ६०, प्रदेशमा १३ हजार ८ सय २१ र स्थानीय तहमा ५१ हजार ४ सय ५७ कर्मचारी समायोजन गरेको थियो । मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय तहमा रिक्त कर्मचारी संख्या कुल दरबन्दीको करिब १७ प्रतिशत हो । रिक्त दरबन्दी पूर्ति गर्ने विषयमा संघ र प्रदेश सरकार अन्योलमा छन् । अधिकार क्षेत्र मिचेर कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको भन्दै केही प्रदेश सरकारले संघको आलोचना गरेका थिए ।

भर्ना प्रक्रियामा रहेका कर्मचारी आगामी कात्तिकसम्म पदस्थापन भइसक्ने तर अन्य रिक्त दरबन्दीको विषय अन्योल रहेको मन्त्रालयले जनाएको छ । लोकसेवाको भर्ना प्रक्रियामा रहेका ९ हजार १ सय ६१ कर्मचारी छनोट गरेर कात्तिकभित्र पदस्थापन गरिसक्ने सरकारको तयारी रहे पनि रिक्त दरबन्दी पूर्ति गर्ने विषयमा अझै अन्योल छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो। 
 

कर्मचारी

विशेष