News

शालिकराम आत्महत्या प्रकरण : रवि लामिछाने ५ लाख धरौटीमा रिहा

रवि र युवराज दुरुत्साहनमा संलग्न हुनसक्ने 

शालिकराम आत्महत्या प्रकरण : रवि लामिछाने ५ लाख धरौटीमा रिहा

चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्यालाई लिएर चितवन जिल्ला अदालतले आत्महत्या दुरुत्साहन मुद्धामा  अभियुक्तहरुसँग धरौटी माग गरेको छ । पत्रकार रवि लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ ।

आत्महत्या प्रकरणमा मुछिएकी अस्मिता भनिने रुकू कार्कीलाई भने साधारण धरौटी रिहा गरेको छ ।सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले धरौटी लिएर छाड्न आदेश दिएको हो ।

धरौटी तिरेर रिहा भएपनि रविले अदालतको अनुमति बिना देश छाडेर बाहिर जान पाउने छैनन् । अदालतले नेपालभन्दा बाहिर जान रविलाई अदालतसँग अनुमति लिनुपर्ने आदेशमा उल्लेख गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसहित ज्यानसम्बन्धी कसुर समेत गरेको अभियोग लगाएको थियो । सरकारी वकिल कार्यालयले तीनैजनालाई मुलुकी अपराध संहिताको दफा १८५ को उपदफा (२) बमोजिम ५ वर्ष जेल र ५० हजार जरिवानाको सजाय मागदाबी गरेको थियो ।

पत्रकार शालिकराम पुडासैनीले गत साउन २० गते चितवनस्थित कंगारु होटेलमा झुण्डिएर आत्महत्या गरेका थिए ।

लामिछाने र कँडेल दोषी हुनसक्ने अनुमान 

अकारण फसाईएको र आफू संलग्न नभएको दाबी गरिरहेपनि रवि लामिछाने र युवराज कँडेल आत्महत्या दुरुत्साहनमा दोषी हुनसक्ने कानून व्यवसायीको तर्क छ । चितवन जिल्ला अदालतको प्रारम्भिक आदेशपछि अधिवक्ता हरिप्रसाद मैनालीले भने –‘‘ धरौटी माग गरिएको आधारमा जो जो सँग धरौटी माग गरिएको छ, शालिकरामको आत्महत्या दुरुत्साहनमा तत्काल देखिएका प्रमाणका आधारमा कुनै न कुनै रुपमा संलग्नता भएको अनुमान गर्न सकिने अवस्था छ ।’’ 

उहाँका अनुसार साधारणतया अदालतले अभियुक्तलाई धरौटीसहित तारिख र साधारण तारिखमा छोड्दा तीन वर्षभन्दा कम जेल सजाय हुने अभियोग भएको, अभियुक्त तत्काल देशभन्दा बाहिर भागी जाने स्थिति नभएको र अभियुक्तले हिरासत बाहिर बसे मुद्धासँग सम्बन्धित थप प्रमाणलाई प्रभावित पार्ने अवस्था नरहेमा तारिख वा धरौटीमा छोडने कानुनी व्यवस्था र अदालती अभ्यास रहेको छ ।

विशेष