News

स्थायी भएको महिनौंसम्म शिक्षकले पाएनन् नियुक्ति

स्थायी भएको महिनौंसम्म शिक्षकले पाएनन् नियुक्ति

काठमाडौं । शिक्षक सेवा आयोगले लिएको लिखित परीक्षा र अन्तर्वार्तामा समेत उत्तीर्ण भएर सिफारिस भएका शिक्षकले महिनौँसम्म पनि नियुक्त पाएका छैनन् । नियुक्ति नपाएपछि माध्यमिक तहका २९ शिक्षक अहिले दिनहुँ शिक्षा तथा मानवस्रोत विकास केन्द्र धाइरहेका छन् । 
 
आयोगबाट सिफारिस भएका शिक्षकको नाम शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जिल्लामा पठाएको थियो । तर, जिल्लाले ‘ठाउँ छैन’ भन्दै उनीहरूलाई केन्द्रमै फर्काएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका प्रवक्ता दीपक शर्माले ‘केही प्राविधिक तथा व्यावहारिक समस्या’का कारण माध्यमिक तहका २९ शिक्षकले नियुक्ति नपाएको बताए । 

आयोगले लिएको परीक्षामा एक नम्बरमा नाम निकालेका शिक्षकको समेत नियुक्ति भएको छैन । पश्चिमाञ्चलबाट सामाजिक अध्ययन विषयको महिला कोटामा पार्वता भुसालले पहिलो नम्बरमा नाम निकालेकी थिइन् । केन्द्रका पदाधिकारीले काम भइरहेको र अन्तिम चरणमा पुगेको जानकारी आफूलाई दिएको उनको भनाइ छ । आफूनजिकको जिल्ला जान चाहेकाले पनि ढिलाइ भएको हुन सक्ने उनले बताइन् ।

आयोगले तत्कालीन शिक्षा विभागले मागेभन्दा बढी शिक्षक सिफारिस गरेकाले समस्या भएको गुनासो शिक्षकहरूको छ । तर, आयोगले भने शिक्षा ऐनअनुसार शिक्षक संख्या सिफारिस गरेको दाबी गरेको छ । शिक्षा ऐनले गरेको व्यवस्थाअनुसार नै विज्ञापन र सिफारिस गरिएको शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा। तुलसीप्रसाद थपलियाले बताए ।

०७३ मा अस्थायी शिक्षकका लागि खुलाइएको विज्ञापनमा केही पद बचेको र शिक्षा ऐनअनुसार विज्ञापन खुलाउँदा केही संख्या बढेको बताए । आयोगले ०७३ र ०७४ मा गरी विभिन्न तह र विषयका १२ हजार सात सयभन्दा बढी शिक्षकको विज्ञापन गरेको थियो । अहिले माध्यमिक तहको सबै नतिजा सार्वजनिक गरी पदस्थापनको काम भइरहेको छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।   

शिक्षक सेवा आयोग शिक्षक नियुक्ति

विशेष