News

सक्षम शिक्षालय अभियान (छात्रावास) निर्माणको घोषणा

सक्षम शिक्षालय अभियान (छात्रावास) निर्माणको घोषणा

काठमाडौं । सक्षम फाउण्डेशन नेपालले सक्षम शैक्षिक (आवासीय भवन निर्माण) अभियान घोषणा गरेको छ । फाउण्डेशनले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा अभियान घोषणा गरेकाे हो । फाउण्डेशनका अध्यक्ष डा.सि.के.सिंहका अनुसार आर्थिक रुपले विपन्न विद्यार्थीका लागि उच्च शिक्षा पूर्णरुपले (बस्ने खाने सुविधासहित) निःशुल्क गराउने उद्देश्यले सो अभियान सुरु गरिएको हो । 

घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य रामप्रित पासवानले यो फाउन्डेसन सक्षम आफैमा एउटा पूर्ण शब्द रहेको र यसले विपन्न र पिछडिएका बालबालिकाको लागि राम्रो काम गर्दै गरेको र अझ राम्रो काम गर्दै जानको लागि हौसला दिए । अभियानबारेबारे कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष कुमार भास्करले विस्तृत जानकारी गराउँदै भने, ‘दश कक्षासम्म सरकारले गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि विभिन्न छात्रवृति निशुल्क शिक्षा लगायतका कार्यहरु गर्दै आए पनि, कक्षा दशभन्दा माथिका विद्यार्थी आर्थिक अभावका कारण उच्च शिक्षाबाट बन्चित हुनुपर्ने गरेको र सो अभावका कारण त्यस्ता तेजस्वी विद्याथीको भविष्य अन्धकारमय भइ अल्प शिक्षित भएर वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यात्मक परिस्थिति सृजना हुने गरेको देखिएको छ । यो परिस्थितिलाई मध्यनजर गर्दै अभियान सुरु गरिएको हो ।’ 

उनले अगाडि थपे, ‘अन्धकारमय परिस्थतीबाट ज्ञानरुपी प्रकाश फैलाई आर्थिक विपन्नता भएको विद्यार्थीलाई निःशुल्क खाने बस्ने सहितको उच्च शिक्षा दिलाउने कार्यको थालनी गरिएको हो । हामी आफै कुनै कार्यप्रति जागरुक भइलागेमा हाम्रो सानो संकलनले एक विशेष समूहलाई ज्ञानरुपी प्रकाश दिन सकिन्छ । यस अभियानमा सबैले सहयोग गरे प्रत्येक प्रदेश यस्ता शिक्षालय निर्माण गरि हरेक वर्ष हजारौं विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिलाउन सकिन्छ ।’ उपाध्यक्ष भास्करले शिक्षालय भवन निर्माणका लागि प्राविधिक तयारी पूरा भइसकेको पनि जानकारी दिए ।  

फाउन्डेशनले सकारात्मक काम गर्न लागेकाले यसमा सबैको सहयोगको अपेक्षा गरिएको फाउण्डेशनका अध्यक्ष एवं कार्यक्रमका सभापति डा. सिंहले बताए । उनले उक्त फाउण्डेशनले पिछडिएका बालबालिकाको लागि सधै काम गर्दै आएको र अब यस शिक्षालय अभियान अन्तर्गत भवन निर्माण गर्ने लक्ष्य रहेको समेत जानकारी दिए । उनले सक्षम शिक्षालय अन्तगर्त बस्ने, खाने, स्टेशनरी लगायतका सम्पूर्ण खर्च सो अवधिभरी शिक्षालयले नै बेहोर्ने बताए । आर्थिक अभाव कारणले शिक्षाबाट कोही पनि बञ्चित हुन न पाओस् भन्ने उद्देश्यले सो छात्रबास (सक्षम शिक्षालय) को निर्माण गर्ने निर्णय गरेर यो अभियान शुरुवात गरिएको अध्यक्ष सिंहले स्पष्ट पारे । 

अभियान घोषणा कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य रामप्रित पासवान, प्रदेश नं. २ का सांसद मनिष सुमन, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, विपि कोइराला भारत–नेपाल फाउण्डेशनका कार्यक्रम निर्देशक गोविन्द साह, पिछडा वर्ग महासंघका अध्यक्ष कौशल किशोर सिंह, महिला अधिकारकर्मी सरिता साह, फाउण्डेशनका सल्लाहकार सुभाष विराजीलगायतले अभियानबारे आफ्ना धारणा व्यक्त गर्नुका साथै आफ्नो तवरले सहयोग र सहकार्य गर्ने प्रतिवद्धतासमेत गरे । 


फाउण्डेशका अध्यक्ष डा. सिके सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अथिति राष्ट्रिय सभा सदस्य रामप्रित पासवान रहेका थिए । कार्यक्रममा महिला उपाध्यक्ष दोर्जे डोल्मा गुरुङले स्वागत मन्तव्य राखे भने फाउण्डेशनका सचिव नविन साहले वार्षिक कार्यप्रगति विवरण प्रस्तुती गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका पेशाकर्मी, अधिकारकर्मी, प्राध्यापक, स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।

सक्षम फाउण्डेशन नेपाल छात्रावास निर्माण

विशेष