बौद्धमार्गी नेवार समुदायको गुँला पर्व सुरु
काठमाडौँ । बौद्धमार्गी नेवार समुदायको गुँला पर्व शुक्रबारदेखि सुरु भएको छ । एक महिनासम्म मनाइने यस पर्वमा विशेषगरी काठमाडौंका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य परिक्रमा गर्छन् ।
सांगीतिक माहोल बनाएर प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा परिक्रमा गर्दा पापबाट मुक्ति पाउने विश्वास गरिन्छ । यस पर्वमा नेपाल संवत् तिथिअनुसार एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्धविहार परिक्रमा गरी नामसंगीति पाठ गरिन्छ ।
एक महिने यो पर्व अवधिभर मासु, अन्डा, प्याजलगायतका खाद्यवस्तुबाट टाढा बसी दैनिक नुहाएर शुद्ध हुनुपर्ने चलन छ ।