News

रविविरुद्धको अभियोगपत्र यसकारण हुन सक्छ कमजोर 

रविविरुद्धको अभियोगपत्र यसकारण हुन सक्छ कमजोर 

काठमाडौं । नेपाल प्रहरीको अनुसन्धानको फेहरिस्त हेरेर सरकारी वकिलको कार्यालयले पत्रकार शालिकराम पुडासैनी आत्महत्यामा दूरुत्साहन भएको विश्वास गरेर रवि लामिछानेसहित तीनजनाविरुद्ध मुद्दा दर्ता गरेको छ । 

आइतबार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की (रुकु)ले आत्महत्यामा दुरुत्साहन गरेको भन्ने दावी गर्दै उनीहरु तीनैलाई पाँच वर्षको जेल सजाय र ५० हजार जरिवानाको माग गरेर मुद्दा दर्ता भएको छ । 

सरकारी वकिलको कार्यालयले मूलतः चार वटा कुरालाई आधार बनाएर आत्महत्यामा दूरुत्साहन भएकै हो भनने दावी गरेको छ । 

ती चार दावी हुन्
१. नेपालआजले सार्वजनिक गरेको वा शालिकरामले मृत्युअघि खिचेको भिडियो 
२. अस्मिता कार्कीको बयान 
३. रवि लामिछानेको बयान 
४. युवराज कँडेलको बयान र निकट केही मानिसको बयान ।

यी चार आधारले आत्महत्यामा दूरुत्साहन भएको निष्कर्षमा सरकारी वकिलको कार्यालय पुगेको छ । 

शालिकरामले आफ्नो भिडियोमा अस्टे«ेलिया जाँन युवराले रुकुसँग भेट गराइदिएको बताएका छन् । कँडेलले हेपेर व्यवहार गर्न थालेपछि उनले शालिकरामले न्युज २४ छाडेको र उनले शालिकलाई ‘तँ फसिस’ भनेर धम्क्याएको विषयलाई सरकारी पक्षले प्रमाण मानेको छ । 

चितवन जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा पनि यी कुरा समावेश गरिएको छ । शालिकरामले भनेको र अस्मिताको बयानमा पनि यिनै कुरा दोहोरिएका कारण धम्क्याएको पुष्टि हुने सरकार पक्षको भनाइ छ । 

अस्मिताले शालिकरामलाई फसाइ दिने धम्की दिएको प्रहरीसँगको बयानमा पनि स्वीकार गरेकी छन् । उनले रवि र कँडेलको सहयोगमा फसाउने बयान दिएको विषयलाई सरकारी वकिलले बलियो प्रमाणका रुपमा अदालतमा पेश गर्नेछ । अस्मिताले बयानमा भनेकी छन्, ‘२४ को कार्यालयमा म गएकी थिएँ । अब सिधा कुरामा शालिकरामको विषय प्रशारण गर्ने बताएकी थिएँ ।’

अभियोगपत्रमा लेखिएको छ, ‘प्रतिवादीले न्युज २४ टेलिभिजनको कार्यालयको फोटो समेत खिची मृतकको बारेमा कार्यक्रम प्रशारण गरिदिने भनी धम्की दिएको कुरा स्वीकार गरेकी तथा सो अनुसार निजले मृतकले आत्महत्या गर्नु भन्दा केही दिन अगाडि पठाएको सो फोटो मिसिल संलग्न रहेको देखिन्छ ।’ 
अस्मिताले शालिकरामले आफूलाई अविवाहित हुँ भनेर धोका दिएको पनि बताएकी छन् । आफूलाई धोका दिएको थाहा पाएपछि आफूले शालिकरामलाई छाडेको तर उसले आफ्नो पिछा नछाडेको बयानमा उल्लेख गरेकी छन् । 

शालिकरामबाट पिछा छुटाउन आफूले क्यामेरामेल अनिल ढुंगेलमार्फत लामिछाने र कँडेललाई अनुरोध गरेको बताएकी छिन् । अस्मिताले शालिकरामसँग गरिएका अन्तरंग फोटा र सन्देशहरु पनि क्यामेराम्यान ढुंगेललाई दिएकी थिइन् । 

ढुंगेलले पनि यो कुरा प्रहरीसँग सही भनेका छन् । अस्मिताले पठाएको निजी फोटो, सन्देश ढुंगेलले युवराज कँडेलालाई उपलब्ध गराएका थिए । यो विषय अभियोग पत्रमा छ । 

कंडेलले भने यी सबै कुरा इन्कार गर्दै बयान गरेका छन् । कँडेलले अस्वीकार गरे पनि कार्की, लामिछाने र ढुंगेलको बयान मिलेपछि उनले बोलेको असत्य प्रमाणित हुने सरकारी पक्षको विश्वास छ । 

अभियोगपत्रमा कँडेलले आफ्नो कार्यक्रम छाडेर अर्को टेलिभिजनमा समानान्तर कार्यक्रम चलाउन गएको बदला लिन अस्मितालाई प्रयोग गरेर शालिकरामलाई यातना दिएको दावी गरिएको छ । 

यता रवि लामिछानेले पनि आफूले पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन नगरेको भन्दै बयान दिएका छन् । अभियोगपत्रमा रविले सिधा कुरामा शालिकरामका विषयमा कार्यक्रम बनिसक्यो भनेर भनिदिएको हुन सक्ने बताएका छन् । 

रविले प्रहरीसँगको बयानमा भनेका छन्, ‘मैले शालिकरामका विरुद्धमा कार्यक्रम बनाइसकेको छु भनेर कसैले भनिदिएको हुन सक्ला । तर उनले मलाई सोधेनन् । उनले मैले साच्चै कार्यक्रम बनाएको भ्रम परेको हुन सक्छ ।’ लामिछानेले भनेका यी विषय सत्य नभएको, अन्य प्रतिवादी, साक्षा र प्रमाणले रविले झुठ बोलको प्रमाणित हुने अभियोगपत्रमा उल्लेख छ । 

‘मृतकसँग सम्बन्ध बिग्रिएपछि मेसेज र अन्य कुराकानी सेयर गरिदिएपश्चात निज अनिल ढुंगेल, युवराज कंडेल र रवि लामिछाने सो सम्बन्धमा सल्लाह गरी योजना बनाई निज शालिकराम पुडासैनी हतोत्साही हुने किसिमले व्ल्याकमेल गरी केही कुरा भनेको वा केही कार्य गरेको हुनुपर्छ, त्यसैले पुडासैनीले आत्महत्या गरेको हुनुपर्छ भन्दै सहप्रतिवादी कार्कीले बयान गरेको देखिएबाट यी प्रतिवादीको इन्कारी बयान खण्डित भएको तथा प्रतिवादीको भूमिकाबारेमा मृतकले भिडियोमा खुलाएको विषय पुष्टि भएको छ,̕ अभियोगपत्रमा भनिएको छ ।

न्युज २४ का पत्रकारहरुले आफूलाई बलात्कारको केसमा फसाउन लागेको शालिकरामले प्रमिला शर्मा भूषाललाई पनि बताएका थिए । अभियोगपत्रमा भूषालको कुरा पनि उल्लेख छ । 
 

विशेष