News

फेक आइडीका कारण किशोरीले गरिन् आत्महत्या

फेक आइडीका कारण किशोरीले गरिन् आत्महत्या

ओखलढुंगा । दुई दिदी र एक दाजुकी कान्छी बहिनी गोमा कार्की एसईई दिएर बसेकी थिइन् । चम्पादेवी गाउँपालिका–१० ओखलढुंगाकी १६ वर्षीया उनको परीक्षाफल प्रकाशित हुन एक साता मात्र बाँकी थियो।

गत असार ६ गते उनलाई दाजुले काठमाडौंबाट फोन गरे, ‘तिम्रो फोटो राखेर फेसबुकमा जे पायो त्यो लेख्ने को हो?’ जवाफमा उनले ‘मलाई त केही थाहा छैन’ भन्नेबित्तिकै फोन काटियो । ‘थुप्रैपटक बहिनीलाई फोन सम्पर्कको प्रयास गर्दा पनि मोबाइल अफ भन्यो’, दाजुले भने, ‘बेलुकी एक्कासि बहिनीले आत्महत्या गरेको खबर सुन्नुपर्‍यो।’

‘सबैको बुढी म’ भन्ने नाम राख्दै प्रोफाइल तस्बिर गोमाको राखिएको थियो । उनको फेसबुक पोस्टबाट तस्बिर कपी गरेर राखिएको आईडी फेक थियो । उक्त आईडी देखिसकेपछि दाजुले त्यो नचिनेको युजरलाई म्यासेज पनि पठाए, ‘किन यस्तो गरेको? तँ को होस्? कानुनी कारबाहीमा जाऊँ?’ त्यो अज्ञात युजरले जवाफ फर्कायो, ‘जे गर्न सक्छस्, गर् । तँलाई केको मतलब?’

समय त्यस्तै साँझको ५ः४५ । पिता लालबहादुर घरेलु हतियार धार लगाउन नजिकैको आरनतिर गएका थिए । आमा नन्दकुमारी बाख्रालाई घाँस काट्न भनेर जंगलतिर निस्केकी थिइन् । खाना बनाउने जिम्मा दिएर निस्केका आमाबुबा घरमा आइपुग्दा छोरीले कोठामा पासो लगाएर आत्महत्या गरिसकेकी थिइन् । त्यसपछि गाउँलेले प्रहरीलाई खबर गरे । प्रहरी आएर हेर्दा उनले लेखेको एउटा सानो चिर्कटो फेला पर्‍यो ।

‘मेरो फेक आईडी बनाएर मलाई बदनाम गराउनेलाई कारबाही गरे मात्र मेरो आत्मालाई शान्ति मिल्नेछ’ लेखिएको थियो । प्रहरीले उक्त सुसाइड नोटको ‘ह्यान्डराइटिङ’ परीक्षण गराउन विधिविज्ञान प्रयोगशाला पठायो । ह्यान्डराइटिङ गोमाकै रहेको पुष्टि भयो।

मृतकको परिवारले फेक आईडी खोलेर बदनाम गराउनेको खोजी गरिदिन प्रहरीलाई आग्रह गरे । उनीहरूले भोटाहिटीस्थित साइबर अपराध ब्युरोमा उजुरी दिए । ब्युरोले केही दिनपछि नै फेक आईडी खोलेको मोबाइल नम्बर पत्ता लगायो।

उक्त नम्बर बिन्दा कार्कीको नाममा दर्ता भएको देखियो । बिन्दा रानीवन माइत भई विवाह गरेर अन्तै गइसकेकी थिइन् । प्रहरीले बिन्दालाई सम्पर्क गर्दा त्यो नम्बर एक वर्षअघि आफूले भाइलाई चलाउन दिएको बताइन्।

त्यसपछि प्रहरीले उनको भाइ युवराज कार्कीलाई सम्पर्क गर्‍यो । युवराजको स्थायी घर चम्पादेवी–१० रानीवन नै हो । मृतक गोमाको भन्दा एक घण्टाको दूरीमा उनको घर छ । तर उनी केही समययता राजधानीस्थित एक होस्टेलमा काम गर्थे।

प्रहरीले सोधपुछका लागि जिल्ला बोलायो । बोलाएर सोधपुछ गर्दा सुरुमा आरोप इन्कार गरे । केही घण्टाको केरकारपछि स्विकारे । उनले प्रहरीसँगको बयानमा आफूले गोमालाई माया गरेको र गफगाफ हुने गरेको बताएका छन् ।

पछि गोमा टाढिन खोजेर धोका दिन लागेकाले आफूले फेक आईडी खोलेर बदनाम गरेको बताएका छन् । आत्महत्या गर्छिन् होला भन्ने कल्पनासम्म नगरेको बयान उनले दिएका छन् । युवराजको बयान र फेसबुकका अन्य प्रमाणसहित प्रहरीले आत्महत्या दुरुत्साहन गरेको भन्दै आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । गोमाको परिवारले किटानी जाहेरी दिइसकेका छन् । ‘करिब दुई महिना हामीले यो घटनाको लगातार अनुसन्धान गर्‍यौं।’

जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजीव श्रेष्ठले भने, ‘घटनाका मुख्य अभियुक्त पक्राउ गरेर मुद्दा प्रक्रिया अघि बढिसकेको छ । बाँकी अनुसन्धानको क्रम चलिरहेको छ।’

ओखलढुंगा जिल्ला अदालतमा दर्ता भएको आत्महत्या दुरुत्साहनको यो दोस्रो मुद्दा हो । मृतकका परिवार र आफन्तले यस्तो घटनाबाट अरूले पाठ सिक्नुपर्ने बताएका छन् । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

ओखलढुंगा आत्महत्या फेक आईडी

विशेष