पैसा लिएको भेटिए कारबाही भोग्न तयार छु : रवि लामिछाने (भिडियोसहित)
चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले मंगलबार पत्रकार सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गरेका छन् । मंगलबार उनले आफ्ना समर्थकलाई पत्रकार सम्मेलन गरेर धन्यवाद दिए । पत्रकार सम्मेलनमा पैसा लेनदेन गरेको विषयमा उनले भने–‘जसले आरोप लगाउँछ, स्टुडियो लिएर आउनुस् लाइभ गर्न तयार छु । जुन दिन आरोप प्रमाणित हुन्छ, पत्रकारिता पेशा त्याग्छु ।’
उनले हिरासतको बसाइले नयाँ अनुभव भएको बताए । हिरासतमा रहेका अन्य व्यक्तिहरुसँगको भेटमा उनीहरुलाई कसरी फसाइएको रहेछ भनेर आफूले बुझ्न पाएको उनको भनाइ छ । लामिछानेले आफू राजनीतिमा जान इच्छुक नरहेपनि आवश्यकता अनुसार जान सक्ने बताए।
राजनीतिमा आउने ढोकाको चुकुल मात्रै लागेको तर ताला भने नलागेको उनको भनाइ छ । उनले भने, ‘राजनीतिमा सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।’ लामिछानेले अहिले गरिरहेको सञ्चार पेशाबाट नै केही परिवर्तन ल्याउन सक्नेमा आफू विश्वस्त रहेको बताए ।
शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका लामिछाने सोमबार ५ लाख धरौटीमा रिहा भएका थिए ।
रवि लामिछाने