नेपाल टेलिकम बचाउन नागरिकहरुले खबरदारी गर्ने
काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकम विस्तार धराशायी हुँदै गएको भन्दै नागरिकहरुले टेलिकम बचाउ अभियान सुरु गर्ने भएका छन् । नागरिक अधिकार अभियानको आह्वानमा आगामी शुक्रबारदेखि खबरदारी अभियान हुन लागेको हो ।
भद्रकाली मन्दिर पछाडि नेपाल टेलिकमको कार्यालय आगाडि कार्यक्रम हुन लागेको हो । खबरदारी सभा शुक्रबार ३ बजेदेखि सुरु हुनेछ ।
नेपाल टेलिकमको खस्किँदो तथा गिर्दो अवस्था, दूरसंचार क्षेत्रमा हुने बेथिति तथा भ्रष्टाचार र नागरिक अधिकारको बिषयमा गैर राजनीतिक नागरिक खबरदारी तथा सचेतना कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।
खबरदारी सभामा डा. सुरेन्द्र केसी, सुकदेव भट्टराइ, वरिष्ठ अधिवक्ता ज्योति बानियाँ, पूर्व मिस नेपाल सुबिन लिम्बु, नागरिक अभियन्ताहरु हरिराम रिमाल, ज्ञानेन्द्र शाही लगायतले धारणा राख्नेछन् ।
सरकारी स्वामित्वको नेपाल टेलिकमको नाफा गत वर्ष ४२ प्रतिशतले घटेको वित्तिय विवरण सार्वजनिक भएको थियो ।
टेलिकमले सार्वजनिक गरेको गत वर्षको आर्थिक प्रतिवेदनमा कम्पनीको खुद नाफा ७ अर्बले कमी आएको छ । टेलिकमले आर्थिक वर्ष २०७४/७५ मा १७ अर्ब ४८ करोड नाफा कमाएकामा आर्थिक वर्ष २०७५/७६ मा नाफा घटेर १० अर्ब २० करोडमा घटेको छ ।
टेलिकमको नाफा मात्रै नभई आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षमा टेलिकमलेकुल ४३ अर्ब ४८ करोड आम्दानी गरेको थियो ।
यसअघि टेलिकमको आम्दानी ४५ अर्ब २६ लाख थियो । टेलिकमको कुल आम्दानी घट्नुका साथै सेवाबाट प्राप्त हुने आम्दानी पनि घटदो अवस्थामा छ ।
टेलिकमको आम्दानी र नाफा घट्नुको प्रमुख कारण फोजी विस्तारमा ढिलाइ भएको विज्ञहरुको भनाइ छ । आफूभन्दा कम ग्राहक आधार भएको एनसेलको भन्दा टेलिकमको आम्दानी घट्दै जान थालेको छ ।
बढ्दो भ्रष्टाचारकै कारण टेलिकम पनि खस्किँदै गएकाले खबरदारी सभा गरेको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन चाहनेले यहाँ क्लिक गर्न सक्नुहुनेछ ।
नेपाल टेलिकम खबरदारी अभियान