राजपा समाजवादी एकीकरण : जुटेरै कि फुटेर ? 

राजपा समाजवादी एकीकरण : जुटेरै कि फुटेर ? 

काठमाडौँ । २३ वैशाखमा नयाँ शक्ति र राजपा नेपालबीच एकीकरणपछि लगत्तै राष्ट्रिय जनता पार्टीसँग पनि एकीकरण थाल्ने भन्दै समिति गठन गरियो । हुन पनि ६ जनाको बृहद् अध्यक्ष, हरेक दुई महिनामा नेतृत्व परिवर्तन जस्ता कारणले राजपा ट्याक्टर शैलीमा मात्रै बढ्दो गतिमा छ ।

पार्टीले गति लिन नसकेकोमा राजपाका नेताहरुमा चिन्ता त छ नै अर्कोतर्फ मनैदेखि राजपामा सबै नेता कार्यकर्ता एक नभए राजपा विस्तार चुनावमा थ्रेसहोल्डकोे कोपभाजनमा पर्ने देखिन्छ । 
साउन १४ गते बसेको राजपा नेपालको सचिवालय बैठकले समाजवादी पार्टी एकीकरणका लागि गम्भीर नरहेको निष्कर्ष निकाल्यो ।

त्यसपछि सञ्चारमाध्यमले भन्न थाले यी पार्टीबीच एकीकरणको सम्भावना टर्दै गएको छ । तर नेपाल आजलाई प्राप्त जानकारी अनुसार समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी भित्री र गोप्य रुपमा कुराकानी भैरहेको बुझिएको छ । राजपा नेपालको तर्फबाट बनेको वार्ता समितिको संयोजक राजेन्द्र महतो समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नियमित छलफलमा छन् । 

आगामी कार्तिक २८ देखि ३० सम्म गर्न लागेको महाधिवेशन पूर्व नै राजपा समाजवादी एक हुन चाहन्छन् । यो एकीकरणको अर्को चुरो के पनि हो भने राजपा सरकारमा सहभागी हुन चाहन्छ र यसका लागि पनि समाजवादीसँग एकीकरण जरुरी छ ।

त्यसो भए एकीकरण कहाँ पुग्यो त ? राजपा महासचिव केशव झा भन्छन् –‘‘ अनौपचारिक रुपमा कुराकानी भैरहेकै छन् । एकीकरणको सम्भावना टरेको पनि छैन । मुख्य कुरा पार्टीको नाम, नेतृत्व व्यवस्थापन, सिद्धान्त, झण्डा जस्ता आधारभूत देखिकै कुरामा छलफल भएको छैन । तर फ्याट्टै एकीकरण हुँदैन भनिहाल्ने अवस्था पनि छैन । ’’

यद्यपि नाम, चुनाव चिन्ह, झण्डा र सांगठनिक संरचनाबारे सहमति नजिक पुगेको एक नेताले बताए । उनका अनुसार दुई पार्टीबीच भएको सहमतिमा एकीकृत पार्टीमा ४ जना अध्यक्ष राख्ने, पहिले अध्यक्ष ठाकुर, दोश्रो अध्यक्ष बाबुराम भट्टराइ, तेश्रो अध्यक्ष उपेन्द्र यादव र चौथो अध्यक्ष महतो हुने सहमति भएको छ ।

यसैगरी एकीकृत पार्टीको संसदीय दलको नेता महेन्द्र यादव हुने सहमति भएको छ । भण्डारीलाई पनि कुनै महत्वपूर्ण जिम्मेवारी दिने सहमति भएको छ ।
 

पृष्ठभूमिले देला साथ

एकीकरणसँग पृष्ठभूमि जोडएर आउँछ । बाहिर जे जस्तो भनिएपनि कांग्रेस र कम्युनिष्ट पृष्ठभूमिले मन मिल्ने र खल्लो बनाउने गर्छ । यो नेताहरुको पटक पटकका व्यवहारले पनि प्रमाणित गरेकै हो । २०६२÷६३ सालको राजनीतिक परिवर्तनसँगै गठन भएको मधेशी मोर्चा विचार नमिलेकैले विभिन्न मोर्चामा विभक्त थिए । हालका ६ अध्यक्षमा एक जनाबाहेक अन्य कांग्रेसी पृष्ठभूमिका छन् । मधेशका पुराना वयोवृद्ध नेता महन्थ ठाकुर ४० वर्ष कांग्रेसको राजनीति त्यागेर मधेशका लागि भन्दै मधेश केन्द्रीत मोर्चामा आबद्ध भएका थिए ।

राजेन्द्र महतो र अनिल झा मधेसको कांग्रेस मानिने सद्भावनाका स्कुलबाट विकसित भएका हुन भने शरदसिंह भण्डारी कांग्रेस पृष्ठभूमिका हुन् । उनी कांग्रेसबाटै फोरम गएर असन्तुष्ट हुँदै आफैँ अध्यक्ष भएर पार्टी खोलेका थिए । अर्का अध्यक्ष राजकिशोर यादव पुरानो फोरमका हुन् । महेन्द्र यादव भने नेकपा एमालेबाट गएकाले उनी पूर्ण कम्युनिष्ट पृष्ठभूमिका नेता हुन् ।

तर यतिबेला पुरानो पृष्ठभूमिभन्दा राजनीतिक भविष्यसँगै सरकारमा गरिपाई आएको हालीमुहालीले भत्भती पोल्न थालेकाले पनि एकीकरणका लागि नेताहरु अलि बढी नै जोड दिएर लागिपरेको बुझिएको छ । 

अनिल झा र राजकिशोर विपक्षमा

स्रोतका अनुसार अनिल झा र राजकिशोर यादव समाजवादीसँग विपक्षमा छन् । एकीकरणले राजपा समाप्त पार्ने भन्दै राजकिशोर यादवले गत साउन २५ गते मधेशका केही पत्रकार डाकेर एकीकरणको विरोध गरे । एकीकरण कोठे र हचुवाका भरमा गरिए मान्य नहुने उनले बताएका थिए ।

राजकिशोर यादव र अनिल झाले विरोध गर्नुको कारण सम्मानजनक भूमिका र हैसियत अनि कामको जिम्मेवारी नतोकिएकाले हुने स्रोतको भनाइ छ । त्यसो त ६ जना अध्यक्ष रहेको राजपामा अहिले अनिल झा, राजकिशोर यादव मात्रै विरोधमा उत्रिएका छन् भने वार्ताटोली संयोजक राजेन्द्र महतो, शरदसिंह भण्डारी र महेन्द्र राय यादव सकभर भदौभित्रै एकीकरण गर्नुपर्ने अडानमा छन् ।

महन्थ ठाकुर भने मौन बसेका छन् । एकीकरण भएपनि उनलाई एक नम्बर वरियताको सम्मानजनक अवस्थामा राखिएको छ भने नभएपनि महाधिवेशनमा उनी सकभर सर्वसम्मत अध्यक्ष हुने दाउमा छन् । किनकी राजपाको कार्तिक अन्तिममा हुने महाधिवेशनले अहिलेको जस्तो ६ जना अध्यक्ष हुन प्रणाली हटाएर एकल अध्यक्षको व्यवस्था हुनेछ । 


राजीव झा हावी हुँदै

प्रो इण्डियन लाइनमा रहेको राजपा चिनिया विश्वासपात्र डा. राजीव झासँगका छलफलमा छ । वर्तमान सरकार प्रो इण्डियन होइन । त्यसैले पनि प्रो चिनिया वर्तमान सरकारसँग समाहित हुन चाहने स्रोतको भनाइ छ ।

अर्कोतर्फ सरकारमा लामो समयदेखि सहभागी नभएको राजपा आन्तरिक रुपमा राजनीतिक भविष्यलाई लिएर पनि चिन्तित छ । यस हिसाबले पनि शरदसिंह भण्डारीका नातेदार डा. राजीव झा मार्फत राजपा सके मिलेर समाजवादी लाइनबाट नसके फुटेर भएपनि प्रो चाइनिज लाइनमा आउने सम्भावना छ ।

यसका लागि राजीव झा खुलेरै लागेका छन् । अनि राजपा नेताहरुको चाहना पनि विस्तारै मिल्दै गएको बुझिएको छ । 

 

राजपा एकीकरण नै होला कि फुट्ला ?

टुट, फुट र जुट मधेशकेन्द्रित दलको स्वर्णाक्षरको विशेषता हो । स्वार्थ मिल्दा जुट्ने र फुट्ने पटक पटक भएको यसअघिको घटनाक्रमले देखाइसकेको छ । तर राजपा र समाजवादी मिल्ने भएमा भने माने सबैलाई समाहित गराउने नत्र छाडेर जाने सम्भावना पनि छ ।

अर्थात सबैले माने महाधिवेशन अघि नै समाजवादीमा एकीकरण हुने नत्र राजपा फुटेर भएपनि समाजवादीमा मिल्नेछ । यसका लागि भने प्रतिक्षा गर्नुपर्नेछ । 
 

संम्बधित खबर

विशेष