News

घातक बन्दै विवाहइतर सम्बन्ध, परिणाममा हत्यादेखि आत्महत्यासम्म

घातक बन्दै विवाहइतर सम्बन्ध, परिणाममा हत्यादेखि आत्महत्यासम्म

काठमाडौं । पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ । विवाहइतर सम्बन्धका कारण इतरसम्बन्धमा रहेकाहरूबीच खटपट हुँदै परिवारमा समेत जानकारीमा आएपछि अन्तिममा आत्महत्यासम्म हुने गरेको पछिल्ला केही घटनाले देखाएको छ ।

गत २४ चैतमा भरतपुर ११ चितवनमा माया आलेमगरसहित उनका छोरा विवेक आलेमगर र छोरी विनिता आलेमगरले एउटै कोठामा सलको पासो लगाएर आत्महत्या गरे । नेपाली सेनाको प्युठ पदमा जागिरे उनका श्रीमान् बिदामा घर आएका बेलासमेत आफूसँग सरसल्लाह नगरी घर छाडेर बसेको भन्दै माया आलेसहित तीनै जनाले आत्महत्या गरेका थिए ।

छोरा विवेकको सुसाइड नोटका आधारमा बाबुको बाहिरी सम्पर्ककै कारण आमाले चित्त दुखाएको र तीनै जनाले आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको थियो । पछि मायाले श्रीमानलाई आत्महत्याअघि गरेको म्यासेजसमेत प्रहरीले फेला पारेको थियो ।

आत्महत्याअघि मायाले श्रीमानलाई गरेको म्यासेजमा लेखिएको थियो, ‘अब हामी तपाईंलाई दुःख दिने छैनौं, सधैं अरूको कुरा सुन्नु, गुडबाई, तपाईंको प्रगति होस् ।’ यसैगरी, गत २० साउनमा पत्रकार शालिकराम पुडासैनीले समेत विवाहइतर सम्बन्धकै कारण आत्महत्याको निर्णयमा पुगेको देखिएको छ । उनले चितवनको भरतपुरस्थित कंगारु होटलमा झुन्डिएर आत्महत्या गरेका थिए । यसैगरी, ३२ साउनमा सुनधाराको एक होटलमा सासूससुरासहित बसेकी तनहुँकी ३८ वर्षीया दिलमाया गुरुङले समेत होटलको चार तलामाथिबाट हामफालेर आत्महत्या गरेकी थिइन् । प्रहरी अनुसन्धानले उनले समेत पारिवारिक खटपटकै कारण आत्महत्या गरेको देखाएको छ ।

यस्तै, १ भदौमा स्वयम्भू ठूलोभर्याङस्थित प्रेमिकाको कोठामा एक प्रहरी जवानले झुन्डिएरै आत्महत्या गरेका थिए । प्रहरी जवान शंकर ठगुन्नाले प्रेमिकाको कोठामा आत्महत्या गरेपछि प्रेमिकाले नै प्रहरीलाई खबर गरेकी थिइन् । उनी मृतक ठगुन्नाकी प्रेमिका रहेको प्रहरीले बताएको छ ।

यसैगरी, बौद्ध आरुबारीस्थित ओम साइबाबा काष्ठ उद्योगका सञ्चालक खेमराज अधिकारीले ४ भदौमा प्रेमिकासँगको सम्बन्धका कारण आत्महत्या गरेका थिए । उनले उद्योगभित्रै सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले बताएको छ । आत्महत्यालगत्तै एक महिला मृतक अधिकारी आफ्नो श्रीमान् भएको भन्दै बौद्ध प्रहरीसमक्ष पुगेको तर मृतक अधिकारीका आफन्तले भने अधिकारीले विवाह नै नगरेको र तिनै महिलाका कारण आत्महत्या गर्न बाध्य भएको दाबी गर्दै आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा किटानी जाहेरी दिएका थिए । यो समाचार राजधानी दैनिकबाट लिइएको हो । 

अनैतिक सम्बन्ध आत्महत्या सम्बन्ध

विशेष