१ लाख २० हजार नगदसहित खरिदार र लेखापढी गर्ने पक्राउ
रुपन्देही । मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डे घुस रकम सहित पक्राउ परेका छन् । सेवाग्राहीसँग १ लाख २० हजार नगद लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
मालपोत कार्यालय बुटवलका खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेले जग्गा नामसारी र लालपूर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेलाई सेवाग्राहीसँग एक लाख बीस हजार घुस वापतको रकम लिइसकेको अवस्थामा मालपोत कार्यालय बुटवल अगाडि रहेको ढकाल पाण्डे लेखापढी सेवाको कार्यालयबाट उक्त घुस रकम सहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।