News

हेलो सरकारमाथि गम्भीर प्रश्न, कागजमा ९६ प्रतिशत फर्स्योट व्यवहारमा प्रभावहीन

हेलो सरकारमाथि गम्भीर प्रश्न, कागजमा ९६ प्रतिशत फर्स्योट व्यवहारमा प्रभावहीन

काठमाडौं । जनताका विभिन्न समस्या र गुनासा तत्काल सम्बोधन गर्ने उद्देश्यसहित सुरु गरिएको ‘हेलो सरकार कार्यक्रम’ प्रभावकारी नभएपछि सर्वसाधारणमा यसप्रतिको विश्वास घटेर जान थालेको छ । सर्वसाधारणले ठूलो आशाका साथ गुनासोसहितको उजुरी गरे पनि व्यावहारिक समाधान हुन छाडेपछि विश्वास घट्दै गएको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ सर्वसाधारणका गुनासा तत्काल सुन्न र समाधान गर्न स्थापना गरिएको थियो । तर, अधिकांश गुनासोका मुख्य विषयलाई सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्न नसक्दा समस्या ज्यूँका त्यूँ रहन पुगेको हो ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा सुरु गरिएको यो कार्यक्रमले आमजनताका गुनासा सम्बोधन गर्दै सरकार र नागरिकबीच सुमधुर सम्बन्ध स्थापित गर्ने विश्वास गरिएको थियो । तर, यो कार्यक्रम हाल आएर पूर्णरूपमा निष्प्रभावी हुँदा सरकारप्रति जनताको विश्वास घट्नुका साथै नागरिक र सरकारबीच दूरी अझै बढ्न पुगेको विश्लेषकको भनाइ छ ।

हेलो सरकारमा आएका अधिकांश उजुरी विकास निर्माणमा भएका ढिलासुस्ती, धुलोधुवाँ, वर्षौंदेखिको लाइसेन्सको समस्या, कर्मचारी समायोजनपछि व्यवस्थापनमा देखिएको समस्या, सडक, पुल तथा भौतिक पूर्वाधार निर्माणमा भएका ढिलाइ, वैदेशिक रोजगारीमा देखिएका समस्या, श्रमसँग सम्बन्धित समस्या, ट्राफिक जामलगायतका जनचासोका विषयमा केन्द्रित छन् । नागरिकका गुनासोलाई सरकारी निकायले सम्बोधनका नाममा झारा टार्ने काम मात्रै गरिरहेको सरोकारवालाले बताएका छन् ।

गुनासोकर्ताका अनुसार समस्याको दिगो र स्थायी समाधान खोज्न नसक्दा सरकारको यो प्रयास प्रभावहीन बनेको हो । सरकारले आएका समस्यालाई साना र टुक्रे किसिमले मात्रै समाधान गर्ने गरेको छ । यसबाट सामान्य उपलब्धि देखिए पनि समस्या भने उस्तै रहेको देखिएको छ । ‘कुनै एक जनाले लाइसेन्सको समस्या आएको गुनासो गर्दा त्यसलाई समाधान गर्ने गरिन्छ तर समग्रमा धेरैले गरेको एउटै समस्या समाधान गर्नेतर्फ भने सरकार उदासीन रहने गरेको बताइएको छ । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो।

हेलो सरकार

विशेष