वाइडबडीको जापान उडान सुरु
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी विमानले व्यवसायिक उडान शुरु गरेको छ । निगमको वाइड बडी ए ३३०ले बुधबार रातीबाट जापानको ओसाकामा सिधा उडान शुरु गरेको हो ।
निगमको वाइडबडी जहाज आज बिहान २ बजेर ४२ मिनेटमा जापानको ओसाकाको लागि उडेको हो । २ सय ७४ सिटे एअरबसको वाइडबडी जहाजमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, ६ जना सांसदसहित एक सय ३२ यात्रु जापान प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
उडान आरम्भ गर्दै पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निगमको व्यवसायिक उडानले नेपालको पर्यटन क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जापानसँगै अन्य गन्तव्यहरुमा पनि वाइड बडीको व्यवसायिक उडान सुरु गर्ने तयारी भइरहेको जानकारी दिए ।
काठमाडौंबाट उडेको जहाज ६ घन्टा २० मिनेटमा ओसाका पुग्नेछ । जापान पुगेको २ घण्टापछि नै जहाज फेरि नेपालको लागि उड्नेछ । निगमले सातामा मंगलबार, बिहीबार र शनिबार काठमाडौ–ओसाका उडान गर्ने तालिका राखेको छ ।
निगमले एकतर्फी टिकटको मूल्य ३६ हजार ९ सय ९९ र दुईतर्फी टिकटको मूल्य ७२ हजार ८ सय १४ रुपैँया तोकेको छ । यसअघि २०५१ साल कात्तिक १३ गतेबाट जापान उडान थालेको निगमले काठमाडौंबाट चीनको सांघाईमा अवतरण गर्दै जापानका लागि उडान गर्ने गर्दथ्यो ।
जहाज अभावलगायतका व्यवस्थापकीय कमजोरीका कारण निगमले २०६३ साल चैत २९ गते ओसाका उडान स्थगन गरेको थियो ।यो उडानसँगै सातवटा मुलुकमा निगमका नौ वटा अन्तर्राष्ट्रिय रुट पुगेका छन् ।