अंग्रेजी भाषा कसरी सिक्ने ?

अंग्रेजी भाषा कसरी सिक्ने ?

कुनै पनि भाषा सिक्ने मानिसको अभ्यासमा निर्भर रहन्छ ।  हामी नेपाली भाषा राम्ररी बोल्न र बुझ्न सक्छौं किनभने यसको अभ्यासका निम्ति हामीसंग प्रशस्त समय रहेको हुन्छ । यदि हिन्दी भाषामा राम्रो प्रभाव छ भने त्यस पछाडिको कारण भनेकै हिन्दी सिक्ने अवसर मिलेको भएर हो । अंग्रेजी भाषा पनि पनि नेपाली र हिन्दीजस्तै अभ्यास गरेर सिक्ने भाषा हो । यो कुनै कठिन र तेस्रो ग्रहबाट आएकाहरुले मात्र जान्ने भाषा होइन । यहाँ हामीले अंग्रेजी भाषा सिक्ने विधि उल्लेख गरेका छौं । जसबाट तपाईं थोरै समयमा अंग्रेजी भाषाको जानकार व्यक्ति बन्नु सक्नुहुनेछ । 

१. अर्थ सम्झिएर अंग्रेजी किताव पढ्ने

अंग्रेजी किताव वा पत्रपत्रिका पढ्दा त्यसको अर्थ लगाएर पढ्ने बानी बसाल्नुस् । अलिकति मात्र भाव बुझेर पढ्नु अंग्रेजी सिक्नेका लागि राम्रो तरिका होइन । यदि तपाईं अंग्रेजीमा धेरै कमजोर हुनुहुन्छ भने एकैपटक कुनै कठिन किताव वा पत्रिकाको अर्थ सम्झेर पढ्ने प्रयाश नगर्नुहोस् । पहिला साधारण र हलुका कितावको व्यवस्था गर्नुस् । त्यसको अर्थ दिनको दुई या तीन पेज दिनहुँ कुरा बुझेर पढ्ने गर्नु उपयुक्त हुन्छ । यस प्रयोजनका लागि तपाईंलाई डिक्सनरी आवश्यक हुनसक्छ । आजकल त गुगलमा तपाईंले चाहेका डिक्सनरी उपलब्ध छन् । यदि डिक्सनरीमा उल्लेख भएका शब्दको भाव बुझ्न कठिन भएमा कुनै साथी या शिक्षकको सहायता लिन नबिर्सनुस् । तपाईंले अंग्रेजीमा पढेको अध्याय नेपालीमा राम्ररी भन्न सक्ने गरी सिकेको हुनुपर्छ । 
यसरी साधारण अंग्रेजी कितावको अर्थ बुझेर पढ्ने क्षमता भइसकेपछि विस्तारै विस्तारै अलि कठिन कितावको अर्थ सम्झिएर पढ्ने कोशिस गर्दा उचित हुन्छ । तपाईं धैर्यसाथ यो काम अघि बढाउँदै जानुभयो भने यसमा उल्लेखनीय प्रगति गर्न सक्नुहुनेछ । यही प्रयाशको फलस्वरुप जुनसुकै खालका अंग्रेजी किताव वा पत्रपत्रिका पढ्दा राम्ररी कुरा बुझ्न सक्नुहुनेछ । 

२. अनुवाद गरी जाँच गराउने

कुनै विषयबस्तु नेपाली भाषामा लेख्नुपर्यो भने हामी सजिलै लेख्न सक्छौं । त्यही काम अंग्रेजीमा गर्नुपर्यो भने शब्द र वाक्य बनाउने वाक्यको विधि नमिल्दा भावमै अन्तर आउन सक्छ । फलस्वरुप अंग्रेजीमा लेखिएको शब्दको आनको तान फरक आई कमजोरी छताछुल्ल हुनपुग्छ । यही कमजोरीलाई हटाउन सबैभन्दा उत्कृष्ट तरिका हो– नेपाली अंग्रेजीमा र अंग्रेजी नेपालीमा अनुवाद गर्नु । यस कमजोरीलाई हटाउन सबभन्दा उपयुक्त विधि भनेको एउटा साधारण अनुवादको किताव जुन अंग्रेजी र नेपाली अनुवाद भएको होस् । जसभित्र दैनिक जीवनमा प्रयोग गरिने भाषाको प्रशस्त अभ्यास भएको होस् । त्यसपछि दिनैपिच्छे एक दुई पाठ नेपालीबाट अंग्रेजी र अंग्रेजीबाट नेपालीमा अनुवाद गर्नुहोस् । अनुवाद गरेपछि त्यसलाई जचाएर कहाँ गल्ती छ, सच्याएर अघि बढ्नुस् । शुरुमा सजिलो खालको अनुवाद गर्नुस र अध्ययन बढ्दै गएपछि कठिन भाषाको अनुवादमा लाग्नुस् । अनुवादका कस्ता पुस्तक उपयोगी हुन्छन ? पठनशैली कस्तो गर्दा प्रभावकारी हुन्छ भन्ने विषयमा शिक्षकको सल्लाह उपयुक्त हुन्छ । यसखाले दोहोरो अनुवाद र लेखनको अभ्यास एकसाथ गर्दै जाँदा मानिसमा मौलिक सिर्जना गर्ने आत्मविश्वास बढ्दै जान्छ । यसका लागि धैर्य आवश्यक छ । एक या दुई महिनाको प्रयासले यस्तो उपलब्धि हात लाग्दैन् । कम्तिमा एक वर्ष तपाईंले समर्पण गर्ने आँट गर्नुभयो भने सुधार हुने विश्वास लिन सकिन्छ । 
 

३. अंग्रेजी व्याकरण पढेर अभ्यास गर्ने

कुनै पनि भाषाको स्वरुपा या बनोट त्यसको व्याकरणमा निर्भर रहन्छ । त्यसैले अंग्रेजीको राम्रो जानकारीका लागि अंग्रेजी व्याकरणको जानकारी आवश्यक छ । तर तपाईं अंग्रेजी भाषाको गहिराईसम्म पुग्न चाहनुहुन्न भने बढी टाउको दुखाउने जरुरी नै भएन । यस्तो स्थितिमा तपाईं आफ्नो अंग्रेजीको जानकारीका आधारमा व्याकरणको आवश्यक पाठ पढ्ने र सिक्ने गर्नुस् । पढेर सिकेपछि त्यसमा दिएका अभ्यास गर्न छुटाउनु हुँदैन् । यसका लागि दुई, तीनखाले अंग्रेजी व्याकरण कितावको जरुरी हुन्छ । पढ्ने र अभ्यासको काम निरन्तर चलिहन जरुरी छ । व्याकरण पढेपछि गरिएका अभ्यास शिक्षकलाई जचाउन भुल्नु हुँदैन् । यसले त्रुटी सच्याउन मद्दत गर्छ । व्याकरण शुद्ध भएन भने न बोलाई र लेखाईमा शुद्धता दुर्लभ हुन्छ । 
 

४. अंग्रेजीमा कुरा गर्ने 

अंग्रेजी भाषाको सैद्धान्तिक ज्ञान मात्रले काम चल्दैन । यसका लागि व्यावहारिक ज्ञान पनि अनिवार्य छ । व्यावहारिक ज्ञान प्राप्तिका लागि व्यावहारिक बाटो अवलम्बन गर्न जरुरी छ । अंग्रेजी बोल्ने क्षमताको विकास अंग्रेजी बोलेरै गर्न सकिन्छ । तपाईंको अंग्रेजी भाषामा जतिसुकै गहिरो लिखित ज्ञान भएपनि अभ्यास नभएको अवस्थामा अंग्रेजीमा कुराकानी गर्न सक्नुहुन्न । मौखिक क्षमता विकासका लागि सबैभन्दा राम्रो तरिका भनेको आफ्ना समकक्षी साथीभाइसंग अंग्रेजीमा कुराकानी गर्नु । यदि कुराकानी गर्ने साथी अनुकूल नभए कुनै भाषा प्रशिक्षण केन्द्रमा भर्ना हुनु उपयुक्त हुन्छ । लामो समयसम्म अंग्रेजी बोल्ने क्रम जारी राख्नुभयो भने अंग्रेजी बोल्ने आत्मविश्वास बढ्दै जानेछ । यही आत्मविश्वासले तपाईंले अंग्रेजीमा सक्षम र आत्मनिर्भर तुल्याउने छ । 

५. अंग्रेजी सुन्ने क्षमताको विकास गर्ने

कसैले अंग्रेजीमा बोलेको कुरा सुनेर राम्ररी बुझ्ने क्षमताको विकास गर्नुपर्ने हुन्छ । यो कुनै तपाईं अंग्रेजी भाषा लेखपढ गर्न वा बोल्न सिकिसकेपछि कसैका कुरा पनि विशेष गरी विदेशीले बोलेको टोन पनि बुझ्नु हुनेछ । हाम्रो देशको वातावरणमा हुर्केका व्यक्तिहरुमा भन्दा पश्चिमी मुलुकका व्यक्तिको आवाज बढी पातलो र लचिलो खालको हुन्छ । त्यसैले उनीहरुले बोलेको हामी प्रष्टसंग नबुझ्न पनि सक्छौं । साथै नेपाल र यसका छिमेकी राष्ट्रमा केही व्यक्तिको घरेलु वातावरण अंग्रेजीमय हुन्छ । उनीहरुको बोली पनि पश्चिमा मुलुकका नागरिकसंग मिल्ने भएका कारण बुझ्न कठिन हुन्छ । कसैको छिटो बोल्ने बानी हुन्छ भने कति चाहिँ शान झार्न छिटो बोलेको देखाउँछन् । यस्तो स्थितिमा पनि दोहोरो संवादमा अप्ठेरो पर्न सक्छ । 

हामी सबैले बुझेको सत्य के भने अंग्रेजी विदेशी भाषा हो । त्यसैले बोलिने टोन पनि विदेशी नै हो । यदि हामी अंग्रेजी भाषा सिक्न चाहन्छौं भने आफ्नो टोन पनि उस्तै बनाउनु पर्यो । हुन त फोनेटिक्स विषय पढेर भाषाको उच्चारणलाई शुद्ध बनाउन सकिन्छ । यदि त्यो सम्मको झन्झट व्यहोर्नु छैन भन्ने लाग्छ भने साधारण अभ्यास नै काफी छ । यसका लागि टेलिभिजन, रेडियो, युट्युब च्यानलको सहयोग लिनुभयो भने तपाईंको दक्षतामा निखार आउँदै जान्छ । अंग्रेजी सिरियल, समाचार, डकुमेन्ट्री, कमेन्टरी हेरेर स्पष्टसंग बुझ्ने कोशिस जारी राख्नुहोला । जुन दिन यी माध्यमबाट आएका विषयवस्तु बुझ्नुहुन्छ, त्यसदिनबाट तपाईं अंग्रेजी भाषाको शुभयात्रामा प्रवेश गर्नुभयो भनेर जाने हुन्छ । तर धैर्य हुन जरुरी छ । धैर्य नभएको मानिसका लागि भाषा कठिन हुन्छ । 
 

नेपाली भाषा अंग्रेजी किताव

संम्बधित खबर

विशेष