भर्जिल भान यूईएफए वर्ष खेलाडी
एजेन्सी । लिभरपुल डिफेन्डर भर्जिल भान डाइकले क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सीलाई पछि पार्दै यूईएफए वर्ष सर्वोत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । डाइकले तीन सय पाँच अंक पाएका छन् । यस्तै मेस्सीले दुई सय सात रोनाल्डोले चौहत्तर अंक पाएका छन् ।
युईएफएको सदस्य, युरोपका प्रशिक्षक र पचपन्न खेल पत्रकारको मतको आधारमा युईएफएले अवार्ड दिएको हो । गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपुर्ण भूमिका निर्वाह गरेका सत्ताइस बर्षिय भानलाई यूईएफएले बर्ष खेलाडी घोषणा गरेको हो । भान ’डिफेन्डर अफ दि सिजन’ पनि घोषित भएका छन् ।
यूईएफए वर्ष सर्वोत्कृष्ट खेलाडीको अबार्ड रोनाल्डोले तीन र मेस्सीले दुईपटक जितेका छन् । गत बर्ष भने यो अबार्ड लुका मोड्रिचले जितेका थिए । बार्सिलोनाका मेस्सी यो पटक ’युईएफए फरवार्ड अफ दि सिजन’ र बार्सिलोनाकै फ्रेन्की डी जोङ ’मिडफिल्डर अफ दि सिजन’ घोषित भएका छन् ।
महिलातर्फ भने इंग्ल्यान्डकी लुसी ब्रोन्जले सर्वोत्कृष्ट महिला खेलाडी अवार्ड जितिन् । लुसी फ्रेन्च क्लब ओलम्पिक लियोनेसबाट खेल्ने गर्छिन ।