News

क्याम्पस प्रमुखले बेचे कवाडीलाई शोधपत्र

क्याम्पस प्रमुखले बेचे कवाडीलाई शोधपत्र

काठमाडौं : स्नातकोत्तर क्याम्पसका प्रमुख महोशकुमार खत्रीले पुस्तकालयमा रहेका मानविकी संकायअन्तर्गत १२ विषयका महत्वपूर्ण किताब र शोधपत्र कवाडी व्यवसायीलाई बेचेका छन् । उनले १२ क्विन्टल किताब प्रतिकिलो ८ रुपैयाँ र ४ क्विटल शोधपत्र प्रतिकिलो १४ रुपैयाँका दरले बुधबार कवाडीलाई बिक्री गरेका हुन् । 

पुस्तकालयका किताब र विद्यार्थीले बुझाएका शोधपत्र बिक्री गर्न मिल्दैन । गर्नैपरे सम्बन्धित संकाय शिक्षक र विभागका प्रमुखसँग परामर्श गरेर माथिल्लो निकायको स्वीकृतिमा मुचुल्का उठाएरमात्र बिक्री गर्नुपर्ने हो ।  ‘तर क्याम्पस प्रमुखले कुनै प्रक्रिया पूरा नगरी पुस्तकालयका करिब ५ हजार विद्यार्थीका शोधपत्र बिक्री गरेर गैरजिम्मेवार काम गरेको पाइयो,’स्नातकोत्तर क्याम्पस प्राध्यापक संघका सभापति टुनाराज भट्टले भने । २०४६ सालमा स्थापित क्याम्पसको पुस्तकालयमा त्यसै बेलादेखिका किताब संगृहीत थिए।

खत्रीले किताब तथा सोधपत्र क्याम्पसछेउमै बस्ने कवाडी व्यापारी करिम मियाँलाई बिक्री गरेका हुन्। मियाँले बुधबारै अर्का कवाडी व्यापारीलाई बिक्री गरिसकेका छन्। 'मैले प्रतिकिलो दुई रूपैयाँ नाफा लिएर बुधबार नै सबै किताब र शोधपत्र विराटनगर, सरौचियाका व्यापारीलाई बिक्री गरेँ' उनले भने। यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

शोधपत्र

विशेष