टेलिकम बचाउन खबरदारी सभा : वक्ताले भने होसियार
काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमको खस्कँदो नाफा तथा परियोजनाहरुमा हुने संस्थागत भ्रष्टाचार मौलाएको भन्दै नागरिक अभियान नेपालको आह्वानमा आज नागरिकहरुले खबरदारी सभा गरेका छन् ।
काठमाडौँको भद्रकालीस्थित टेलिकम कार्यालय अगाडि भएको खबरदारी सभामा वरिष्ठ अधिवक्ता ज्योति बाँनिया, भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही, नागरिक अभियान नेपालका हरेराम रिमाल लगायतले टेलिकमको आम्दानी घट्दै जाँदा पनि सरकार र सरोकारवालाहरु सजग नभएको भन्दै चिन्ता व्यक्त गरे ।
भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीले निजी कम्पनी एनसेल अड्डा अदालतबाट करमा पनि छुट हुँदै जाने, नाफा बढाउँदै जाँदा नेपाल टेलिकमको आम्दानी भने घट्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले भने –‘‘सरकार संस्थानलाई देख्नै नहुने भयो, ४४ संस्थान हिजोका दिनमा कौडीको भाऊमा बेचिए, अब टेलिकम पनि त्यस्तै बनाउन खोजिएको छ । ’’
उनले फोर जी विस्तारमा नेपाल टेलिकमका अधिकारी विभागीय मन्त्रीसँग मिलेर संस्थागत भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । उनले भने –‘‘ अहिलेका मन्त्री बाँस्कोटाले नेपाल टेलिकम पनि घाटामा लगेर निजीकरणमा लैजान लागे ।
४ अर्बमा एनसेलले फोरजी विस्तार गर्न सक्छ । नेपाल टेलिकमलाई किन १८ अर्ब ? नीतिगत भ्रष्टाचार भएको छ ’’ उनीहरुलाई भ्रष्टाचारका लागि चिनिया टेलिकम्युनिकेश हुवावेको डिजाइन रहेको उनको भनाइ छ । उनले भने–‘‘ अहिले कामको खोजीमा ८० लाख युवा विदेशिएका छन् । तर अर्बौँका परियोजना ओगट्ने हुवावे र उसका कम्पनीहरुले नेपालमा विदेशी कामदार नै ल्याएका छन् । ’’
सभामा वरिष्ठ अधिवक्ता ज्योति बाँनियाले नेपाल टेलिकमका कर्मचारी नै टेलिकम बचाउन लाग्नुपर्नेमा विदेशीको प्रभावमा चुप बसेको बताए । उनले भने –‘‘ टेलिकम धराशायी बन्न लागेकाले शासक जिम्मेवार बन्नुपर्छ । फोरजी लगायतमा भएको भ्रष्टाचार र टेलिकमको खस्कँदो नाफाबारे जाँचबुझ आयोग गठन गर्नुपर्छ । ’’
नागरिक अभियानका हरेराम रिमालले कर छली गरेर राज्य ठग्ने एनसेलबारे सर्बोच्च अदालतमा फैसलासमेत उल्टिनु, एनसेलले कर छली गर्नुलाई आशंकाको विषय भएको बताए । ठूला परियोजनामा नेपालीले नै काम पाउनुपर्ने भन्दै टेलिकमका ठूला परियोजना ओगटेका कम्पनीहरुले नेपालीहरुलाई नै काम दिनुपर्ने बताए ।
सभामा झण्डै एक सय उपस्थित थिए । सभामा सहभागीहरुले निजी कम्पनी र नेपाल टेलिकमका परियोजना ओगट्ने हुवावे लगायतका कम्पनीका कारण टेलिकम धराशायी बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
सरकारी स्वामित्वको नेपाल टेलिकमको नाफा गत वर्ष ४२ प्रतिशतले घटेको वित्तिय विवरण सार्वजनिक भएको थियो ।
बढ्दो भ्रष्टाचारकै कारण टेलिकम पनि खस्किँदै गएकाले खबरदारी सभा आगामी दिनमा पनि खबरदारी अभियान निरन्तर गरिरहने प्रतिबद्धता जनाएका छन ।