झरी पर्ने दिन घट्दै, एक्कासी मुसलधारे पानी पर्ने क्रम बढ्यो
काठमाडौं । नेपालमा विगत तीन दशक बढी समयको मौसमी तथ्याङ्क केलाउँदा झरी पर्ने दिन क्रमशः घट्दै गएको देखिएको छ । एक्कासि मुसलधारे पानी पर्ने क्रम भने बढ्दो छ ।
कम्तीमा तीन दिनसम्म लगातार एकदेखि १० मिलिमिटरसम्म निरन्तर वर्षा हुने क्रमलाई सामान्यतया झरी भनिन्छ । यो मौसमी अवस्था सन् २००० देखि त झन तीव्ररुपमा घटेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कले देखाउँछ ।
सन् १९८० देखि २०१५ सम्मको मनसुन अवधि (जुनदेखि सेम्टेम्बर)को प्राप्त विवरण विश्लेषण गर्दा त्यस्तो प्रवृत्ति देखिएको विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल बताउँछन् । विभागले मुलुकभरका २८ मौसमी सूचना केन्द्रबाट लिएको तथ्याङ्कलाई विश्लेषण गरेको हो । उनी भन्छन्, “पहिलेको तुलनामा झरी पर्ने दिन क्रमशः घट्दो छ, एक्कासी वर्षा हुने क्रम भने बढ्दो छ । जुन तथ्याङ्कमा पनि स्पष्ट हेर्न सकिन्छ ।”
नेपालमा यस वर्ष हालसम्म एकै दिनमा सबैभन्दा बढी वर्षा जनकपुरमा भएको तथ्याङ्क अभिलेख छ । यस वर्ष जुलाई १३ मा जनकपुरमा २८३ दलमलव आठ मिलिमिटर पानी परेको थियो । त्यस्तै जुन १५ मा एकैदिन सबैभन्दा बढी वर्षा सुनसरीको तरहरामा ११५ दशमलव पाँच मिलिमिटर र अगष्ट १७ लुम्लेमा १८० दशमलव नौ मिलिमिटर वर्षा भएको तथ्याङ्क छ ।
मुसलधारे वर्षाले विपद् बढ्दै
जलवायु परिवर्तनका असरका कारण विगतको तुलनामा लगातार झरी पर्ने दिन घटेको र मुसलधारे पानी पर्ने दिन बढेको मौसमविद्को भनाइ छ । एकै दिनमा १०० मिलिमिटरभन्दा बढी वर्षा हुने क्रम बढेको छ । त्यसले विपद्का घट्नासमेत बढेको बताइएको छ ।
जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशकसमेत रहिसक्नुभएका जल तथा ऊर्जा आयोगका सहसचिव ऋषिराम शर्मा मुसलधारे वर्षाले नेपालको भू–उपयोग, विकास निर्माण, अव्यस्थित बस्तीमा ठूलो असर पार्ने गरेको बताउँछन् ।
उनी भन्छन्, “एक्कासी ठूलो पानी पर्नाले कृषि बालीनालीमा असर पर्ने, बाढी पहिरोलगायत विपद्का घटना बढेका छन् । शहरका ढलको क्षमताले धान्न नसकेर बाटाघाटा जलमग्न हुने गरेका छन् । साना खोलामा एक्कासी बाढी नै आउने गरेको छ ।” वर्षामा आएको यो परिवर्तन जलवायु परिवर्तनका असरको परिणाम भएको सहसचिव शर्मा बताउँछन् ।
विश्वव्यापीरुपमा तापक्रम र हरित ग्यास उत्सर्जनमा भएको वृद्धिले जलवायुमा आएको परिवर्तनबाट मौसमी प्रणालीमा समेत असर देखिएको हो । नेपाल जस्तो कमजोर पहाडी भू–भागमा एक्कासी पर्ने मुसलधारे वर्षाले एकातिर पहिरो जानेक्रम बढेको र अर्कोतिर पानीका मूलमा पनि पानीको मात्रा घटेको भूगर्भविद्को भनाइ छ ।
विस्तारै र निरन्तर वर्षा हुँदा जमीनले पानी सोस्ने र त्यो पानी विस्तारै मुल फुटेर बग्ने गरेको बताउँदै भूगर्भविद् डा कृष्ण देवकोटा भन्छन्, “आकाशबाट एक्कासी ठूलो वर्षा हुँदा जमीनले सोस्न नसकेपछि पहिराको जोखिम बढ्छ । ठूलो पानीको व्यवस्थापन नहुने र पहिरोसँगै लेदो माटोसमेत बगेर जाने त्यसपछि तत्लो तटीय क्षेत्रमा समेत विपद् निम्तिने गरेको छ ।”
एक्कासी पर्ने मुसलधारे वर्षाका कारण जमीनले पानी सोस्न नपाएर मूलमा पनि पानीको मात्रा घट्ने र यसले पानीका स्रोतमा समेत असन्तुलन हुने भूगर्भविद् डा. देवकोटाको भनाइ छ । साथै अहिले पहाडमा जथाभावी सडक खन्ने प्रवृत्ति बढेको र त्यो खनेको जमीनमा एक्कासी हुने ठूलो वर्षाले माटो बगाइ पहिरो जानेक्रम बढेको छ ।
मनसुन प्रवेश गर्नेक्रम पछाडि धकेलिँदै
सामान्यतया नेपालमा मनसुन प्रवेश गर्ने मिति जुन १० मानिन्छ भने सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । यो वर्ष नेपालमा मनुसुन १० दिन ढिला अर्थात् जुन २० मा प्रवेश गरेको हो ।
विगत १८ वर्षको अवधि हेर्दा नेपालमा पाँच वर्ष मात्र जुन १० अघि मनसुन प्रवेश गरेको छ भने अरु वर्ष ढिला नै प्रवेश भएको छ । त्यस्तै मनसुन कायम रहने मिति पनि पछाडि धकेलिएको छ । मौसमविद्ले यसलाई पनि जलवायु परिवर्तनको असर हो भनेका छन् । मनसुन प्रवेश गर्ने र कायम रहने मितिमा आएको परिवर्तनले खासगरी कृषिमा असर पारेको छ भने मानिसको जीवनशैलीलाई प्रभावित पारेको छ ।
गत १८ वर्षको मौसमी तथ्याङ्क हेर्दा सन २००२ बाहेक सबै वर्ष मनसुन औसतभन्दा ढिलासम्म सक्रिय रहेको छ । सन् २०१३ मा त नेपालमा अक्टोबर १९ सम्म मनसुन सक्रिय रहेको विभागका वरिष्ठ मौषमविद् डा कँडेल बताउँछन् ।
नेपालमा मुख्यगरी मनसुन बङ्गालको खाडीबाट प्रवेश गर्छ । केहीमात्रामा अरेबियन सागरबाट समेत प्रवेश गर्ने गरेको छ । दुवै क्षेत्रबाट नेपाल प्रवेश गर्ने जलवाष्पयुक्त मनसुनी हावा नेपालमा एकैसाथ प्रवेश हुँदा भीषण वर्षा हुने गरेको छ । नेपालमा हिउँदमा वर्षा गराउने पश्चिमी वायु भने भूमध्यसागरबाट प्रवेश गर्छ ।
नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महीनामा मनसुनको समयमा कूल वर्षाको ८० प्रतिशत वर्षा हुन्छ । यसैगरी प्रि मनसुनको समय (मार्चदेखि मेसम्म) मा करीब १२ प्रतिशत, मनसुनपछि (अक्टोबर र नोभेम्बर) चार प्रतिशत र हिउँद (डिसेम्बरदेखि फेब्रुअरी) तीन दशमलव पाँच प्रतिशत वर्षा हुने गरेको छ । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो।
वर्षा मुसलधारे पानी