प्रेसको नाममा लोकतन्त्र विरोधी गतिविधि स्वीकार हुन्न : मन्त्री बाँस्कोटा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले स्वतन्त्र प्रेसको नाममा हुने लोकतन्त्र विरोधी कार्यलाई स्वीकार गर्न नसकिने बताएका छन् ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले राजतन्त्रका पक्षधरहरु प्रेस स्वतन्त्रताको नाममा लोकतान्त्रिक व्यवस्थालाई सिध्याई पुनःस्थापित हुने प्रयासमा लागेको बताए । कुनै पनि विषयमा मिडिया ट्रायल हुन नदिईने चेतावनी पनि दिए ।
जवाफ दिने क्रममा उनले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लाई कमजोर बनाउने विषय मिडिया काउन्सिल विधेयकमा नरहेको स्पष्ट पारे । उनले प्रेसलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सरकारले विधेयक ल्याएको बताए ।
राष्ट्रिय सभा सदस्यहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहुने आवश्यक व्यवस्था गर्न सुझाव दिए ।
मिडिया क्षेत्रमा देखिएका विकृतिलाई पनि नियन्त्रण गर्न सक्ने व्यवस्था विधेयकमा गरिनुपर्ने धारणा उनीहरुको छ । आमसञ्चार सम्बन्धि नियमन मात्रै गर्ने भएकाले यो विधेयकलाई सम्मृद्ध बनाउने सवालमा आएका सुझावलाई सरकारले समावेश गर्ने प्रतिवद्धता जनाएको छ ।
छलफलपछि मिडिया काउन्सिल विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।