कुश, औँशी र बुबाको मुख हेर्ने दिनको महत्व

कुश, औँशी र बुबाको मुख हेर्ने दिनको महत्व


भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु-याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आखिर के छ त यस दिनको महत्व ?

स्नाने दाने जपे होमे स्वाध्याये पितृकर्मणि।
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।

अर्थात् स्नानगर्दा, दानगर्दा, जपगर्दा, होमगर्दा, वेदाध्यायन र सन्ध्योपासन गर्दा साथै पितृकर्ममा समेत प्रयोग हुने अत्यधिक पवित्र मानिने वहुपयोगी कुशलाई हामी पवित्र वनस्पतिका रुपमा मानि भाद्रकृष्ण कुशेऔँसीका दिन घर घरमा कुश भित्र्याएर कुशेऔँसी पर्व मनाइन्छ ।

वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्त्वपूर्ण धार्मिक भूमिका भएको पवित्र वनस्पति हो । वैदिक सनातन धर्ममा कुशलाई कुनैपनि कार्य देवकार्य, पितृकार्य, लगायतका हरेक धार्मिक कृत्यमा कुशलाई प्रयोग गर्ने गरिन्छ ।

कुशलाई दाहिने हातको औँलामा औँठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गलत तरङ्ग र विकिरण लाई निस्तेज गर्ने विश्वास गरिन्छ ।

कुशविना विधि सम्पादन हुँदैन त्यसकारण कुशको पवित्र लगाएर कुश हातमा लिएर मात्र संकल्प आदि र देव पितृ हरुको पूजादि कर्म गरिन्छ । भगवान श्री कृष्णले अर्जुन लाई सन्ध्या उपासना र ध्यान गर्दा कुशको आसनमा बस्ना ले छिटो फल पाउने बताउनु भएको छ । 

वैदिक सनातन धर्ममा कुश , तुलसी , पिपल, र शालिग्राम लाई विष्णु भगवानको प्रतीक मानिन्छन् । ब्रह्माजीको उत्पत्ति सँगै कुशको पनि उत्पत्ति भएको हो । कुशको प्रसंग धेरै ठाउँमा पाइन्छ । भगवानले वराह अवतार लिएर पृथ्वीको उद्धार गर्ने क्रममा झरेका भगवानका रौंहरुनै पछि कुश एवं काश भएर उम्रिए ।

यसरी वराह भगवान बाटै कुशको उत्पत्ति भएको प्रसंग शास्त्रमा पाइन्छ । यस्तै स्वस्थानीको कथा प्रसंगमा पनि पतिव्रता बृन्दाको श्रापकै कारण घाँस हुनुपरोस् भनेकोमा भगवान विष्णु कुशरुप हुनु परेको कुरा स्पष्ट छ । यस्तै अरु पुराण हरुमा पनि कुशको वर्णन पाइन्छ ।

तस्यादलं मुखेकृत्वा तिलदर्भासनेमृतः॥ 
तिला पवित्रास्त्रिविधा दर्भाश्च तुलसी तथा ॥
दर्भा विभूतिर्गे तार्क्ष्य मम रोमसमुद्भवाः।
अतस्तत्स्पर्शनादेव स्वर्गं गच्छन्ति मानवाः।। 

अर्थात् तुलसीदल मुखमा राखेर तिल र कुशको आसनमा बसि प्राण त्याग गर्ने व्यक्ति निःसन्देह पाप रहित भइ सुगति प्राप्ति गर्छ भन्ने शास्त्रको भनाइ छ । भगवान भन्नुहुन्छ मेरो रोम र‍ोम बाट उत्पन्न यो कुश मेरो विभूति हो अतः त्यसको स्पर्श मात्रले पनि मानिस शान्तिको अनुभूति गर्दै राम्रो गति प्राप्त गर्दछ । 

कुशमूले स्थितो ब्रह्मा कुशमध्ये जनार्दनः ।
कुशाग्रे शंकरो देवस्त्रयो देवाः कुशे स्थिता ।।

कुशको मूलभागमा ब्रह्मा , विचमा विष्णु र टुप्पोमा शिवजीको बाँस छ , यसरी कुशमा तीनै देवताको निवास छ। त्यसकारण कुशलाई हामी हरेक कार्यका लागि प्रयोग गर्ने गरिन्छ ।

ॐ विरञ्चिना सहोत्पन्ना परमेष्ठिनिसर्जन । 
नुद सर्वाणि पापनि दर्भ१ स्वस्ति करोभव ।।

वर्षदिन भित्रमा परि आउने सम्पूर्ण देव, पितृ, लगायतका धार्मिक कर्महरु गर्नका निमित्त कुशेऔँसीका दिन वैदिक मन्त्रोच्चारण गरि कुश र भूमिलाई पूजा र धूपदीप गरेर क्षमा समेत मागि ॐ भनेर कुशलाई स्पर्श गरि एकै पालिमा पितृतीर्थ देखि  हुँ फट्  भनेर उखेलिएको कुशलाई घरमा राख्नाले शान्ति र रक्षा हुन्छ भन्ने विश्वास गरिन्छ । कुश एउटा वनस्पति हो जसलाई घरमा राख्नाले सम्पूर्ण नकारात्मक वातावरण हटाई स्वच्छ र शुद्ध सफा वातावरण सिर्जना गर्दछ भन्ने विश्वास गरिन्छ । 

कुशका प्रकार :
कुशाः काशा यवा दूर्वा उशीराश्च सकुन्दकाः।
गोधूमा बीहयो मौञ्जा दशदर्भाः सबल्वजाः ।
कुशा काशाः शरा दूर्वा यवगोधूमबल्वजाः । 
सुवर्णं राजतं ताम्रं दशदर्भाः प्रकीर्तिताः ।। 

प्रदेश आदिको बासमा या कर्मकाण्डको अवस्थामा कुश नपाएमा कास, जौ, दूवो, उशीर, कुन्द, गहूँ, धान, मुँज, तथा बाबियोलाई पनि कुश समान व्यवहारमा ल्याउन र चलाउन सकिन्छ भन्ने धर्म शास्त्रको वचन छ । यस्तै यिनीहरुको अभावमा सुन, चाँदी र तामाको पनि प्रयोग गर्न सकिने शास्त्रीय भनाइ छ। 

भाद्रकृष्ण औँसीमा उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने र अरुकुनै पनि औँसीमा उखेलिएको कुश महिना दिन सम्म चलाउन मिल्ने छ । पूर्णिमाका दिन उखेलिएको कुश पन्द्र दिन सम्म र अरु दिन उखेलिएको कुश त्यस दिनका लागि मात्र प्रयोग गर्न सकिने , तर भाद्रकृष्ण कुशेऔँसीको दिन सोमवारे औँसी परेमा त्यसदिन उखेलिएको कुश १२ वर्ष सम्मै कुशलाई प्रयोग गर्न सकिन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ।

पितृ सम्मान दिवस 
भाद्रकृष्ण औँसीलाई कुशेऔँसी , गोकर्णे औँसी, बाबुको मुख हेर्ने औँसी र कुशोत्पाटन औँसी भनेर चिनिन्छ । 

पितृ देवो भव:
माता पितालाई साक्षात् जीवित देवताका रुपमा मानिएको छ। आफूलाई जन्म दिएर लालन पालन गरि हुर्काएकोमा बाबू प्रति कृतज्ञता ज्ञापन गर्ने पितृ दिवसका रुपमा मनाइन्छ । त्यसदिन छोराछोरीले बुबालाई मनपर्ने मेवा मिष्ठान्न तथा भोजन गराई उपहार दिएर आदर सम्मान प्रकट गर्ने गर्दछन् ।

यो एकदिन मात्रै नभएर प्रत्येक क्षण प्रत्येक दिन माता पिताको आज्ञा पालन गर्ने गरौं , वहाँ हरु प्रति सदैव आदरभाव राख्ने वहाँ हरुको दिल नदुखाई बुढेसकालको सहारा बनौँ तबमात्र यो पर्व मनाएको सार्थक हुन्छ , देखावटी नगरौँ । 

यो संसारमा जन्माएर हुर्काएर शिक्षा दीक्षा दिएर योग्य बनाएर संसार सामु खडा गराउनु भएको छ , यसरी विश्व सामु चिनाउने मातापिता लाई छोराछोरी प्रतिको पूर्ण भरोसा एवं विश्वास रहेको हुन्छ ताकि भविष्यमा छोराछोरी हरुले आफू प्रति राम्रो व्यवहार र कर्तव्य निभाउंछन् भनेर । 

पल पलको संरक्षण नभएको भए आज कतिपय छोराछोरी हरु अंग हीन हुन्थे होलान् । ती सारा दुःख कष्ट झेलेर एक सक्षम सन्तान मात्र नभई देश र समाजको आदर्श नागरिक बनाउनमा आ आफ्नो सन्तान प्रति जुन मातापिताको योगदान छ त्यो अतुलनीय छ, ती मातापितामा हृदयतः कोटि कोटि धन्यवाद दिनु र सदै नमन गर्नु , सेवा गर्नु सबै सन्ततिको कर्तव्य हुन आउँछ । 

जीवित अवस्थामा मातापिताको भरपुर सेवा गर्नु नै छोराछोरीको प्रमुख कर्तव्य हो भने मातापिता नहुनेले मृतात्माको शान्ति एवं सुगतिका लागि तीर्थ आदि क्षेत्रमा गई श्राद्ध, तर्पण, दान,लगायतका भोजनदान, दुःखी गरिव अनाथ हरुको सेवा गरि पुण्य कर्म गर्नु अर्को विशेष पक्ष हो । यी दुवै कर्म छोराछोरीका लागि कर्तव्य प्रधान कर्म हुन् ।

– केशव आचार्य, संस्कृत, स्नातक सेवा मण्डली, थाइल्याण्ड । 

संम्बधित खबर

विशेष