News

किन घटे जापान जाने विद्यार्थी

किन घटे जापान जाने विद्यार्थी

काठमाडौं : शिक्षा मन्त्रालयले जेठ २९ गते बुधबारबाट जापान भाषा मात्र पढ्न जाने र पास गरेको लेभलमै पढ्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन अनुमतिपत्र (नो–अब्जेक्सन लेटर) नदिने निर्णय गरेको थियो ।

नेपालमै स्नातक गरिसकेर पनि स्नातक पढ्न तथा एसइई पढेर बाहिर जान नपाइने भन्दै त्यस्ता विद्यार्थीलाई अनुमित नदिने भनिएको वैदेशिक अध्ययन अनुमति शाखाका प्रवक्ता महेश्वर शर्माले बताए । 'भाषा सिकेपछि के पढ्ने भन्ने निश्चित गर्ने विद्यार्थीलाई मात्र उच्च शिक्षाका लागि बाहिर जाने अनुमति दिन्छौँ' उनले भने। शर्माका अनुसार स्कुल तहको भाषा सिक्न मात्र विद्यार्थी बाहिर जान आवश्यक नभएकाले यस्तो नीति ल्याएको हो।

शिक्षा मन्त्रालयअन्तर्गत वैदेशिक अनुमतिपत्र शाखाका अधिकृत बमेश्वर राईका अनुसार भाषा मात्र पढ्न जानलाई अनुमति पत्र नदिने भनिएपछि जापानका लागि नो अब्जेक्सन लेटर(एनओसी) लिन आउने विद्यार्थीको संख्या घटेको छ । अनुमितपत्र शाखाका अनुसार २०७६ साउनमा जापान जान एनओसी लिन आउनेको संख्या २४८ मात्र छ । आव २०७५/७६ जेठ २८ सम्म ८ हजार ३६ जनाले जापानका लागि एनओसी लिएका छन् तथा जेठ २८ देखि असार मसान्तसम्म ४८७ ले जापानका लागि एनओसी लिएका छन् । यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो।

जापान अध्ययन

विशेष