चीन र रूसलाई तह लगाउन यस्तो छ ट्रम्पको पासो
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ पारमाणविक सन्धिमा रुस र चीनले हस्ताक्षर गरुन् भन्ने आफ्नो चाहना रहेको बताएका छन्। उक्त विषयमा आफूले दुवै देशसँग कुरा गरेको र उनीहरू त्यसबारे "निकै उत्साहित रहेको" ट्रम्पले जानकारी दिए।
अमेरिकाले रुससँगको पारमाणविक सन्धि औपचारिकरूपमा तोड्ने निश्चित गरेपछि नयाँ अस्त्र होडबाजी शुरू हुने आशङ्का गरिएको बेला ट्रम्पले त्यस्तो अभिव्यक्ति दिएका हुन्।
इन्टरमिडियट-रेन्ज न्यूक्लियर फोर्सेस ट्रिटी आइएनएफ अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र तत्कालीन सोभियत सङ्घका नेता मिखाइल गोर्वाचेभले सन् १९८७ मा हस्ताक्षर गरेका थिए।
यो सन्धिले ५०० देखि ५,५०० किलोमिटरसम्म प्रहार गर्न सकिने क्षेप्यास्त्रहरूमाथि प्रतिबन्ध लगाउँछ। तर अगस्ट २ मा अमेरिकाले सो सन्धि भङ्ग गरेको छ।
यो वर्षको सुरुमा अमेरिका र नेटोले रुसलाई नयाँ खाले क्षेप्यास्त्र प्रयोगमा ल्याएर यो सन्धि तोडेको आरोप लगाएका थिए। मस्कोले भने यो आरोपको खण्डन गरेको थियो।
सन्धिबाट पछि हटेसँगै पारमाणविक अस्त्रको दौडलाई कसरी निस्तेज बनाउने योजना छ भन्ने प्रश्नमा ट्रम्पले आफ्नो प्रशासनको रुससँग परमाणुसम्बन्धी सहमतिका विषयमा कुराकानी भइरहेको र त्यसले दुवै मुलुकलाई केही हदसम्म डरबाट छुटकारा दिने बताए।
"हामीले कुनै विन्दुमा चीनलाई पनि समावेश गर्नु पर्ने हुन्छ," उनले थपे। त्यस्तो सहमति "विश्वका लागि महत्त्वपूर्ण" हुने उनले बताए।
"यस विषयमा चीन निकै उत्साहित देखिन्छ। रुसको अवस्था पनि त्यस्तै छ जसकारण कुनै न कुनै समयमा उक्त विषयमा सहमति हुन्छ भन्ने मलाई लाग्छ," सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले भने।