News

प्रधानमन्त्री ओलीले रोके सुन तस्करीमा संलग्न उच्च तहका नेताको नाम

प्रधानमन्त्री ओलीले रोके सुन तस्करीमा संलग्न उच्च तहका नेताको नाम

काठमाडौं । गृह मन्त्रालयका सहसचिव ईश्वरप्रसाद पौडेलनेतृत्वको अनुसन्धान टोलीले सुन तस्करी प्रकरणमा पाँच सय १२ व्यक्तिमाथि अनुसन्धान गर्नुपर्ने सुझाब सरकारलाई दिएको थियो । तर, गत वर्ष १६ साउनमा प्रधानमन्त्री केपी ओलीलाई बुझाएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्किएको छ । प्रतिवेदनमा प्रहरीको कुनै निकायबाट सो घटनाको थप अनुसन्धान गर्न पनि सिफारिस गरिएको छ । जसमा केही उच्च तहका नेता तथा प्रहरी अधिकारीको समेत नाम थियो । 

 

‘प्रतिवेदन कार्यान्वयनमा त चासो देखिन्न नै,’ अनुसन्धान टोलीका एक सदस्य भन्छन्, ‘फरार रहेका व्यक्ति पक्राउ गर्नसमेत कुनै चासो देखिन्न ।’ प्रधानमन्त्री कार्यालयले नै प्रतिवेदनका विषयमा कुनै निर्णय नगरेकाले आफूहरूले त्यसमा केही गर्न नसकेको गृह मन्त्रालयका एक अधिकारीले बताए । 

 

रेड नोटिस भएकासमेत पक्राउ परेनन् 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्विन्टल सुन तस्करी गर्ने गिरोहका मुख्य १० जना अझै फरार छन् । उनीहरूलाई पक्राउ गर्न प्रहरीले चासो दिएको छैन । प्रहरीले ११ जनालाई रेड नोटिस तथा दुईजनाविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो । जसमा दुईजना मात्र पक्राउ परेका छन् । 

 

प्रहरीले हरिशरण खड्का र बेनु श्रेष्ठलाई दुबईमा पक्राउ गरी नेपाल ल्याएको छ । दुबईमै समातिएका रमेश उप्रेतीलाई आठ महिना बित्दा पनि ल्याउन सकेको छैन । सो गिरोहका मुख्य नाइके सुनसरी धरान–३ स्थायी ठेगाना भएका मोहनकुमार अग्रवाल फरार नै छन् । कालिकास्थानस्थित उनको घरमा प्रहरीले छापा मारेर गाडीलगायत सामान बरामद गरेको थियो । छापा हान्नु केही दिनअघि सूचना पाएर उनी भारत भागेका थिए । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

गृह मन्त्रालय प्रधानमन्त्री केपी ओली

विशेष