‘भीरबाट लडाएर गाई मार्नेहरुलाई कारबाही होस्’
काठमाडौं । सुर्खेतमा तीन सय गाईगोरु भीरबाट लडाएर मार्ने अपराधीको पहिचान गरी कारबाही गर्न शिव सेना नेपालले माग गरेको छ । नेपालगन्जबाट दैलेख लैजान भनेर करिब तीन सयवटा गाईगोरु सुर्खेतको वीरेन्द्रनगरमा पुर्याई त्यहीँको भीरबाट लडाइएको घटना शंकास्पद रहेको भन्दै शिव सेनाले यसमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।
शिव सेनाका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यो घटना हिन्दुधर्ममाथिको प्रहार हुन सक्ने शंका गरेको छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘हिन्दुधर्ममा आस्था राख्ने तमाम जनमानसको मन यो घटनाले छोएको छ । गौमातालाई भीरबाट खसाउने अपराध र पाप जो जो दूराचारीले गरेका छन् ती निश्चय नै अपराधको भागिदार हुनेछन् । यस्तो बर्बर कृत्य कसरी भयो, किन भयो ? भन्ने विषयमा अनुसन्धानका क्रममा खुल्दै जाला । तर एकपछि अर्को गर्दै हिन्दु धर्ममा आस्था राख्नेहरुमाथि भइरहेको प्रहारका कारण हामी यस घटनाबाट पनि सशंकित भएका छौं ।’
घटनामा २२ गाई शुक्रबार नै मरिसकेका थिए । बाँकी गाइगोरु घाइते थिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । शिव सेनाले पनि दोषीहरुको खोजी गरी कारबाही हुनु पर्ने अन्यथा पार्टीले नै कारबाहीका लागि पहल गर्ने चेतावनी पनि दिएको छ ।
यो प्रकारको हिंसा आफूहरुलाई सह्य नहुने पार्टीले स्पष्ट पारेको छ ।