'एउटै सहारा तिम्रै मायाको...'
काठमाडौं : काभ्रे, दाप्चाका कृष्णचन्द्र श्रेष्ठ । ९३ वर्षको बुढ्यौली उमेर । हातखुट्टाले भर छाडिसके । तीन छोरा र तीन छोरी गरी छ सन्तानका बाबु । श्रीमती बितेको वर्षौं भैसक्यो । छोरीहरु घरजम गरेर गए । छोराहरुले विवाह गरेर पेसा, व्यवसाय गर्न सहरबजार लागे । ८ वर्षअघि दाप्चाको घर आगो लागेर पूर्ण रुपमा नष्ट भयो । जसोतसो उनी जोगिए ।
सम्पत्तिको नाममा भएको घर पनि आगोले सखाप पारेपछि उनले गाउँ छाँडे। काठमाडौं आए। तिनकुनेस्थित निःसहाय सेवा सदनको जेष्ठ नागरिक आवासगृहमा साहारा लिई बस्न थालेको ८ वर्ष भैसकेछ।
बुवाको मुख हेर्ने दिन थुप्रै मानिस खानेकुरा, फलफुल लिएर सदनमा बस्ने श्रेष्ठसहित ३८ जना वृद्धवृद्धा भेट्न आए। आक्कल–झुक्कल भेट्न आइपुग्ने छोरा आइहाल्लान् कि भनेर श्रेष्ठ दिउसो अबेरसम्म बाटो कुरिबसे। कोही आएनन्। एक्लिएर सहारामा पुगेका उनलाई छोराछोरीको उतिसारो आशा पनि छैन। तर आफ्ना सन्तानको माया भने सदैव रहिरन्छ। ‘यस्ता चाडवाडमा चाँही छोराछोरीको याद आउने रहेछ,’ उनले दुखित हुँदै सुनाए।
ओखलढुंगा, रामपुरकी ८० वर्षिया गायत्री थापा पनि श्रेष्ठ जस्तै सदनको सहारामा छिन्। उनले त्यहाँ बस्न थालेको ११ वर्ष भैसक्यो। जायजन्म नभैकन पतिको मृत्युपछि कहिले घर त कहिले माइती गर्दै बसेकी उनी गाउँका साथीभाइसँगको लहैलहैमा काठमाडौं छिरेकी थिइन्। धेरैवर्षसम्म नक्सालस्थित चिनारु आफन्तकै घरमा खाना पकाउने काम गरिन्। उमेर ढल्किदै गएपछि काम गर्न नसक्ने भइन्। पछि चिनेजानेकै साथीहरुले आवाशगृहमा बस्ने व्यवस्था मिलाइदिए। ओखलढुंगाका देवर, देउरानी कहिलेकाँही भेटघाट गर्न आउँछन्।
‘बस्न उतै आउनु भन्छन्, काम गर्न सकिँदैन,’ गायत्रीले सुनाइन्। छोराछोरी, परिवार, आफन्त तथा समाजबाट अपहेलित वृद्धवृद्धाहरु सदन वृद्धाश्रममा जीवनको अन्तिम सत्र कटाउन आउँछन्। ‘आफ्नो घरजस्तो कहाँ हुन्छ र, घरैमा पनि बस्न सकिँदैन,’ परिवार, समाजबाटै अपहेलित हुनुपरेपछि वृद्धाश्रम पुग्नुपरेको एक वृद्धले गुनासो पोखे। चार दशक अघि पत्नी बितेपछि साहाराविहिन बनेका उनी केहि वर्षदेखि तिनकुनेको आवाशगृहमा बस्दै आएका छन्।
त्यसो त सरकारले सन्तान वा संरक्षकले आनो कमाइको १० प्रतिशत रकम आमाबाबु/अभिभावकका नाममा रहेको बैंकमा जम्मा गर्नुपर्ने ज्येष्ठ नागरिकसम्बन्धी विधेयक ल्याएको छ। यसबारे सुनाउँदा श्रेष्ठले सरकारले लागु गर्न सके आफूजस्ता जेष्ठ नागरिकलाई राहत मिल्ने बताए। पारिवारिक वातावरणमा जीवन व्यतित गर्न पाउँने अभिलासा व्यक्त गरे। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।