राजपा र समाजवादीबीचको एकता प्रक्रिया चिनियाँ दबाबमा !
काठमाडौं । चिनियाँ दबाबका कारण राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपालबीच हुने भनिएको पार्टी एकतामा चिनियाँ दबाबले काम गरिरहेको शंका गरिएको छ ।
अधिवक्ता सुनिल रञ्जन सिंह, अधिबक्ता पंकज कर्ण, पत्रकार अनन्त मेहता, कलाकार विजय यादव निर्जीव, अधिकारकर्मी आनन्द गुप्ता, दलित अधिकारकर्मी नरेन्द्र पासवान, मधेसी कर्मचारी मञ्चका उपाध्यक्ष सुजितकुमार झा, मैथिल महिला समाजका अध्यक्ष अञ्जला झा, संघीयता सम्बन्धी विज्ञ डा.विनय मिश्रा, अवधी अगुवा आलोक तिवारी, सांस्कृतिककर्मी नागेन्द्र ठाकुरलगायतका अधिकारकर्मीहरुको भेलाले दुई दलका नेताहरुलाई खबरदारी गरे । उनीहरुले सत्ताको खेलमा नभएर शोषित पीडित जनताको पक्षमा काम गर्न आग्रह गरे ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा चिनियाँ स्वार्थ पूरा गर्न यस्ता खाले हर्कत भइरहेको उनीहरुले आरोप लगाएका छन् । मधेशी पार्टीहरुले मधेसी महिला, दलित तथा पेशाकर्मीहरुलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने गरेको तर उनीहरुको समस्याप्रति ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पश्चिमा संस्कृति अतिक्रमण परेको मधेसी संस्कृतिप्रति पनि पहिचानको कुरा गर्ने मधेसी पार्टीहरुले ध्यान नदिएको पनि उनीहरुले आरोप लगाएको छ । प्रदेश नं २ लाई पनि आर्थिक रुपले सशक्त तथा आत्मनिर्भर बनाउन पनि कुनै कदम नचालेको भन्दै अधिकारकर्मीहरुले समग्र नेपालको कुरा गर्ने मधेसवादी दलहरुले पश्चिम मधेससमेत समेट्न नसकेको आरोप लगाएका छन् ।
मधेसी अधिकारवादीहरुले सत्ता र स्वार्थको खेलका लागि मात्रै यस्तो कार्य नगर्न सम्बद्ध पक्षलाई आग्रह गरेका छन् । राजपाका सांसद जेलमा रहेको बेला, आरक्षणको अधिकार कुण्ठित गरिएको बेला, प्राकृतिक प्रकोपले मधेस त्रस्त रहेको बेला मधेसवादी दलहरु मधेसको मुद्दा सम्बोधन गराउनुको सट्टा सत्ताको खेलमा लागेको भन्दै अधिकारकर्मीहरुले खबरदार गरेका हुन् ।
संविधान संशोधन गर्न कुनै कदम नचालेको, मधेसी शहीदहरुलाई अपमान गरेको, मधेसको अधिकार कण्ठित गर्दै आरक्षणको व्यवस्था लत्याउदै कर्मचारी भर्ना गरिरहेको सरकारमा सहभागी समाजवादी पार्टीसँग राजपाले एकीकरणको प्रयास गर्नु सत्ताको खेलबाहेक अरु केही नभएको मधेसी अधिकारकर्मीहरुले बताएका छन् ।
यसअघि राजपाभित्रको राजेन्द्र महतो नेतृत्वको गुटले मन्त्री पदको लागि समाजवादी पार्टीसँग एकीकरण गर्न खोजेको समाचारहरु बाहिरिएको थियो । राजपाका ६ जना अध्यक्ष मण्डलका सदस्यहरुमध्ये राजेन्द्र महतो, शरतसिंह भण्डारी र महेन्द्रराय यादवलाई उपेन्द्र यादवले चीनको समर्थनबाट मन्त्री बनाइदिने आश्वासन दिएपछि समाजवादी पार्टीसँग एकीकरणका लागि महतोले दबाब सिर्जना गरिरेको समाचारहरु बाहिर आएको थियो । अहिले चीनपरस्त सरकारमा राजपालाई विलय गराएर मधेसमा प्रभाव बढाउन खोजिरहेको चीनको ग्राण्ड डिजाइनको खुलासा भएपछि मधेसमा व्यापक असन्तुष्टि बढेको छ ।