दोलखाको गौरीशंकरमा पहिरो, २ बेपत्ता, १० घर पुरिए

दोलखाको गौरीशंकरमा पहिरो, २ बेपत्ता, १० घर पुरिए

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–१, जूँगुमा पहिरोमा पुरिएर २ जना वेपत्ता भएका छन् । गएराति आएको पहिरोमा पुरिएर गौरीशंकर गाउँपालिका–१, जूँगुका करिब ५५ वर्षीय जीतबहादुर खत्री र वडा नं. २ का करिब १९ वर्षीय निशान खड्का वेपत्ता भएको दोलखा प्रहरीले जनाएको छ ।

शुक्रबार राति खेसेको पहिरोमा १० घर पुरिएको र अन्य ११ वटा घरमा बस्न नमिल्ने गरी क्षति भएको दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए। पहिरो पीडित स्थानीयलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ।

थान–जूँगु सडकखण्डमा एक सवारी साधन पहिरो पुरिएको थियो । सोही सवारी निकाल्ने क्रममा थप पहिरो आई पुरिएर दुईजना बेपत्ता भएको स्थानीयलाई उद्धृत गर्दै दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।

पहिरोको कारण निजी सवारी साधनमा यात्रा गरिरहेका अन्य ५ जना घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार स्थानीयले पहिरोमा बेपत्ता भएकाको खोजी गरिरहेका  छन् । 

जिरी र मैनापोखरीको प्रहरी टोली घटनास्थलतर्फ लागेको भएपनि  जूँगु खोला बढेर पुग्न ढिलाई भएको र थप विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पहिरो

संम्बधित खबर

विशेष