लेन अनुशासन पालना नगर्ने ४३ हजार सवारी साधन कारबाहीमा
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लेन अनुशासन नमान्ने ४२ हजार ८२२ चालकलाई कारवाही गरेको जनाएको छ । कारवाही परेकामध्ये ४० हजार ६१९ पुरुष र दुई हजार २०३ महिला रहेका छन् । महाशाखाले आर्थिक वर्ष २०७५र०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउनेलाई कारवाही गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रवीकुमार पौडेलले जानकारी दिनुभयो ।
महाशाखाले सिसीटिभी, ग्रोप्रो क्यामरा, वडीवन क्यामेराबाट समेत लेनबाट अनुगमन गरी अनुशासनको कारवाही गर्दै आएको छ । सिसीटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारीसाधनको नम्बर टिपेर चालकको घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरेको पौडेलले जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पाँचसय जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन ट्राफिक प्रहरीले विस २०७१ असोज २६ देखि लेन अनुशासन कारवाही गर्दै आएको हो ।
महाशाखाले हालसम्म तीन लाख आठ हजार ५ सय ४७ चालकलाई लेन अनुशासनमा कारवाही गरी जनचेतनामूलक कक्षा लिएको प्रवक्ता पौडेलले बताउनुभयो । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा मात्र नौ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् ।