सचिव हुने तयारीमा रहेका सहसचिवहरूलाई प्रदेश पठाउने तयारी
काठमाडौं । सरकारले प्रदेश मातहतका मन्त्रालयमा संघमा कार्यरत सचिव हुने तयारीमा रहेका वरिष्ठ सहसचिवहरूलाई प्रदेशमा पठाउने तयारी गरेको छ ।
उच्च स्रोतले दिएको जानकारीअनुसार यस विषयमा मन्त्रिपरिषद् बैठकबाट निर्णयको तयारी भइरहेको छ । मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल सुरु भएको स्रोतले जानकारी दिएको छ । हाल केन्द्रका कनिष्ट सहसचिवलाई प्रदेशमा सचिवका रूपमा पठाउने गरिएको छ ।
स्रोतका अनुसार सरकारले सातै प्रदेशमा रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ४९ वटा मन्त्रालयमा केन्द्रका वरिष्ठ सहसचिवहरूलाई पठाउने तयारी गरेको हो । हाल प्रदेशको मन्त्रालयमा कार्यरत कनिष्ठ सहसचिवहरूलाई फिर्ता बोलाएर सोही स्थानमा सचिव हुने लाइनमा पुगेका वरिष्ठ सहसचिवलाई सचिवको जिम्मेवारीमा पठाउन लागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
प्रदेशलाई सशक्त बनाउन अनुभवी सहसचिवहरूको आवश्यकता माग भएपछि सरकारले यस्तो निर्णय लिन लागेको हो । तर, संघमा रहेका सहसचिवहरूले भने संघका वरिष्ठ सहसचिवलाई छानीछानी प्रदेशमा पठाउँदा संघीय सरकार कमजोर हुने र संस्थागत मेमोरी नै नष्ट हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।
मन्त्रिपरिषद् मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय