संसदीय विशेष समिति गठनसँगै प्रतिनिधि सभाको बैठक सुचारु
काठमाडौँ । केही दिनदेखि जारी सदनकाे अवरोधबारे छलफल गर्न बसेको बैठकले सात सदस्यीय अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन गरेकाे छ।
दलहरुबीच संसदमा फेरि यस्तो गतिरोधको नआओस् भन्न संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन सात सदस्यीय विशेष समिति गठन गर्ने सहमति भएको हो।
दलहरुबीच यसबारे सहमति भएसँगै प्रतिनिधिसभाको सोमबारको बैठक सुचारु भयो । बैठकमा सभामुख कृष्णबहादुर महराले अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठनको प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङको संयोजकत्वमा गठित विशेष समितिका सदस्यहरुमा नेकपाका प्रमुख सचेतक देव गुरुङ तथा सांसद विन्दा पाण्डे, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक पुष्पा भुषाल तथा सांसद मिनेन्द्र रिजाल, राजपा, नेपालका लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीका उमाशंकर अरगरीय छन् ।
समिति गठनसँगै प्रतिनिधि सभाको बैठक खुलेको थियो । बैठकमा सभामुख कृष्णबहादुर महराले मधेश आन्दोलनको विषयमा छानविन गर्न गठित गिरिशचन्द्र लालको संयोजकत्वको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिनुभयो ।
प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक पुष्पा भुषालले मानव अधिकार रक्षा, भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि प्रतिपक्षीले सदनमा विषय उठाउँदै आएको जिकिर गर्नुभयो ।
राजपा नेपालका सांसद राजकिशोर यादवले सभामुखको सक्रियता र पहलकदमीका कारण समास्या समाधान गरी निश्कर्षमा पुगेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट (नेकपा) का प्रमुख सचेतक देव गुरुङले सभामुखको निरन्तर प्रयासले वार्ता र संवादमार्फत बैठक सुचारु गर्ने अवस्थामा पुगेको बताउनुभयो ।
प्रमुख सचेतक गुरुङले वार्ता र संवादबाट समस्या समाधान गर्न सकिन्छ भन्ने पुष्टि भएको भन्दै यस्ता अवरोध नआओस् र समस्या नदोहोरियोस भन्नका लागि विशेष समितिले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।