News

भारत र अमेरिकाद्वारा नेपाल प्रहरीको तालिममा कटौती

भारत र अमेरिकाद्वारा नेपाल प्रहरीको तालिममा कटौती

काठमाडौं । नेपाल प्रहरीलाई आफ्नै देश बोलाएर तालिम दिने सहयोगमा भारत र अमेरिकाले कटौती गरेका छन् । भारत र अमेरिकामा तालिम कोटा घटेपछि नेपाल प्रहरीका अधिकारीलाई सबैभन्दा धेरै तालिम दिनेमा चीन पहिलो स्थानमा परेको छ । 

आर्थिक वर्ष ०७५–७६ मा दुई सय ६७ प्रहरी वैदेशिक तालिम तथा सेमिनारमा गएका थिए । जसमध्ये सबैभन्दा धेरै ७८ जना चीन गएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । यस अवधिमा भारतमा ७५ र अमेरिकामा ६ जना गएका थिए । 

०७४–७५ मा सबैभन्दा धेरै अर्थात् ९९ प्रहरी भारतमा विभिन्न तालिममा सहभागी थिए । त्यस्तै, चीनमा ८२ र अमेरिकामा २६ जना गएका थिए । भारत र अमेरिका जानेको संख्या पछिल्लो वर्ष घटेको हो । चीन जानेको संख्या पनि चारजना घटेको छ । तर, सबैभन्दा धेरै जाने देशमा चीन नै परेको छ । 

केही वर्षयता चीनले नेपालको सुरक्षा निकायलाई विभिन्न किसिमका सहयोग बढाउँदै लगेको छ । जसमध्ये एउटा तालिम पनि हो । स्वतन्त्र तिब्बतको गतिविधि नियन्त्रणलगायत अपेक्षासहित चीनले तालिमसहितका सहयोग बढाएको प्रहरी अधिकारी बताउँछन् । हिमाली जिल्लामा प्रहरी कार्यालय बनाइदिनेदेखि प्रहरीको सञ्चार सेटसम्ममा चीनको सहयोग छ ।
 
समग्रमै घट्यो वैदेशिक तालिममा जानेको संख्या 
वैदेशिक तालिममा जाने नेपाल प्रहरीको संख्या समग्रमा घटेको छ । ०७४–७५ मा तीन सय ४९ प्रहरी वैदेशिक तालिममा गएकोमा ०७५–७६ मा दुई सय ६७ मात्र गएका छन् । 

त्यस्तै, इटालीमा पनि तालिमका लागि जानेको संख्या घटेको छ । अघिल्लो वर्ष २४ प्रहरी अधिकारी गएकोमा गत वर्ष तीनजना मात्र गएका छन् । वैदेशिक तालिममा चीन र भारतपछि गत वर्ष सिंगापुर धेरै गएका छन् । जहाँ १३ जना प्रहरी अधिकारी गएका छन् । त्यस्तै थाइल्यान्डमा १०, मलेसियामा सात, भियतनाममा ६ तथा जापान, काजकिस्तान, इन्डोनेसिया र फ्रान्समा पाँच–पाँचजना गएका छन् । गत वर्ष विभिन्न ४० देशमा प्रहरी अधिकारीहरू पुगेका छन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

तालिम भारत अमेरिका

विशेष