नागपञ्चमी, श्रावण र सोमबार
-हरि न्यौपाने
हिन्दुहरुको महत्वपूर्ण पर्व नागपञ्चमी अर्थात नागपूजा आज मनाइँदैछ।आजको दिन हरेकले घर घरमा नागको फोटो टाँस्ने, नागका मूर्तिमा पुजाअर्चना गर्ने प्रचलन छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीमा मनाउने नागपञ्चमीमा नागदेवताको चित्र बनाई पूजा अर्चना र स्तोत्र पाठ एवं धूप दीप गर्नाले कालसर्प आदि दोष निवारण हुने र वज्रभय, अग्निभय, सर्पभय,र विषालु जन्तुहरुको भय नहुने एवं घरमा सुख शान्तिको वातावरण भई रहने शास्त्रीय भनाइ छ ।
शास्त्रमा भनिएको छ –
श्रावणी शुक्ल पञ्चम्यां नागपूजां करोति यः ।
इह लोके सुखं भूत्वा स्वर्गलोक महियते ।।
नागचित्रं यस्यद्वारे योस्थापयदि नित्यस ।
नाग भयात् प्रमुच्यते गृहे कल्याण सर्वदा ।।
अर्थात–जसले नागको चित्र दैनिक रुपमा द्धारमा स्थापना गर्दछ उसले नागको भयबाट मुक्ति पाउँछ भने घरमा सदैव कल्याण हुन्छ । हिन्दू धर्मको मान्यता अनुसार श्रावण शुक्ल पञ्चमीका दिन नागको पूजा र प्रार्थना गर्नाले सर्पहरुका राजा नागदेवता खुसी भई मनुष्य लाई सुख शान्ति प्रदान गर्नु हुन्छ र स्वर्गलोक सम्मको सुख समेत मिल्छ भन्ने जन विश्वास छ ।
अर्कोतर्फ माथिको दोस्रो श्लोकले के संकेत गरेको छ भने नागपञ्चमीमा नागको चित्र वा गोमय नाग बनाई, दही, दूध, दूवो, कुश, सिन्दुर, लावा, मास, चन्दन, अक्षता, अविर, केशरी, फलफूल ,र धूप दीप आदिले पूजाअर्चना गरि घरको मूल ढोकामा टाँस्नाले मेघ, बिजुली, अग्नि र सर्पको भय नहुनेर घरमा सदा सर्वदा कल्याण हुन्छ भन्ने बताइएको छ ।
त्यसो त हिन्दु धर्ममात्रै यस्तो धर्म हो जसले जुन सबैभन्दा पुरानो छ, जुन सबै धर्मभन्दा माथि छ जुन धर्मले सबै चराचर प्राणीलाई उत्तिकै महत्व र सम्मान दिएको छ ।
हामी नाग पञ्चमीमा नाग, कार्तिकमा काग, कुकुर, गाई, गोरु लगायत सबैलाई उत्तिकै स्थान मान र सम्मान मात्र दिइन्न एक दिन नै किन नहोस् देवता मानेर पूजा गरिन्छ । त्यसमाथि नाग र मानिसको सम्बन्ध त परापूर्वकाल देखि कुनै न कुनै रुप वा स्वरुपमा रहिआएको छ ।
नाग भगवान् शिवको आभुषण हो, भगवान विष्णुको शैया हो । विभिन्न स्थानमा नागको स्वरूप र आकार प्रकार सचित्र देख्न पाइन्छ।
पौराणिक पृष्ठभूमि
पौराणिक कथन अनुसार राजा परीक्षितका छोरा जन्मेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक जो (जरत्कारु र मनसादेवी सुपुत्र) थिए, उनले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएको पुराणहरुमा उल्लेख छ।
पूजनविधि
प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथि नागपञ्चमी हो । यो दिन बिहानै उठी, स्नान गरी नागको चित्रमा वा मूर्तिमा पूजा गर्ने गरिन्छ ।
यसो गर्नाले नागको भय हुँदैन भन्ने जनविश्वास छ । यसका लागि गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दही, दुबो, कुश, फुल, सिन्दूर, चन्दन आदिले नागको पूजा गरी, धूप दीप, नैवैद्य सहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले कालसर्प आदि योग पनि नष्ट हुन्छ भन्ने गरिन्छ ।
अर्कोतर्फ नागहरूमा पानी पार्ने शक्ति भएको विश्वासले गर्दा वर्षाकालमै नागपूजा गरिन्छ।
नागपञ्चमीको दिन नागको मूर्तिहरूमा दूध र दहीले स्नान गराउने र अर्पण गर्ने परम्परा छ।
सर्पलाई गहनास्वरूप प्रयोग गर्ने शिवको ऋषेश्वर स्वरूपलाई पनि यसै दिन स्मरण र पूजन गरिन्छ। घरभित्र सर्प नपसुन् भनेर मूलढोकाको माथिल्लो भागमा अष्टनाग र कालिय दमन चित्र टाँसिन्छ।
वासुकिः तक्षकश्चैव कालियो मणिभद्रकः।
ऐरावतो धृतराष्ट्रः कार्कोटकधनंजयौ ॥
एतेऽभयं प्रयच्छन्ति प्राणिनां प्राणजीविनाम् ।।
भविष्योत्तरपुराणमा नागका विभिन्न नामहरु उल्लेख गरिएको छ । जस्तै वासुकी , तक्षक, कालिय, मणिभद्रक , ऐरावत, धृतराष्ट्र , कार्कोटक र धनंजय यिनै अष्टनागको नाम स्मरण गर्दै व्रत बस्ने विधान पनि छ।
यसै क्रममा अनन्त (शेष), वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट, शंखको नाम पनि आउँछ। त्यस्तै नवनागमा (अनन्त, वासुकी, शेष, पद्मनाभ, कम्बल, शङ्खपाल, धृतराष्ट्र, तक्षक, र कालियको नाम आउँछ ।
कालसर्प योगको शान्तिका लागि (अनन्त, कुलिक, वासुकि, शंखपाल, पद्म, महापद्म, तक्षक, कर्कोटक, शंखचूड, घातक, विषधर, र शेषनागको नाम आउँछ ।
नागलाई पूज्ने अर्को कारण पनि छ । त्यो भनेको शक्तिको पूजा हो । पौराणिक कालमा विभिन्न ठाउँलाई लोकको रूपमा विभाजन गरिएको थियो ।
इन्द्र नामका राजा बस्ने इन्द्रलोक, त्यसै गरेर विष्णुलोक, शिवलोक, ब्रह्मलोक, यमलोक आदि राज्यहरू विभाजन गरिएका थिए । तिनै मध्येको एउटा नागलोक पनि हो जहा नागहरुको निवास छ ।
नागको उत्पत्ति
नागहरुको जन्म सम्बन्धमा संसारको आदि काल देखिनै नागजातिहरुको सम्बन्ध स्थापित छ, यसको वर्णन वेदव्यासले महाभारतको आदिपर्वमा गर्नु भएको छ ।
कद्रू र विनता दक्षप्रजापतिकी पुत्री हुन् र उनको विवाह कश्यप ऋषिसँग भएको थियो, कद्रूले वरदानको रुपमा सहस्र पराक्रमी नागहरुको आमा बन्ने प्रार्थना गरिन् र ऋषिको वरदान स्वरुप नागजातिहरु कद्रूका गर्भबाट हजारौं जातिका नागहरु जन्मेका हुन् भन्ने पुराणहरुमा उल्लेख भएको पाइन्छ ।
नागदेवताको अस्तित्व र सम्बन्ध विभिन्न स्थानमा भएको पाइन्छ । ब्रह्मलोक, विष्णुलोक, शिवलोक र स्वर्गादि इन्द्रलोकमा पनि नागको वर्णन पाइन्छ । नागदेवताले धेरै ठाउँमा भगवान र देवी देवता एवं महापुरुषहरुलाई सहयोग र रक्षा गरेको पाइन्छ ।
भगवान विष्णुलाई प्रार्थना गर्दा शान्ताकारं भुजगशयनं भनिन्छ भगवान विष्णु शेष नागको शय्यामा विराजमान भएको पाइन्छ । भगवान शिवले वासुकी नागको माला बनाएर समाधि मग्न भएको देखिन्छ , रामायणमा लंकायुद्धमा राम र लक्ष्मण लाई नागपाशले बाँधिएका छन् भने महाभारतमा भीमसेन लाई नागलोकमा नागहरुले रक्षा गरेको पाइन्छ ।
देवता र दानव हरुले समुद्र मन्थन गर्दा नागको मदानी बनाई नागकै सहारामा समुद्रबाट चौध रत्न प्राप्त गरेको पाइन्छ ।
गीताको दशौं अध्यायमा भगवान श्रीकृष्णले सर्पाणामस्मिवासुकि अनन्तश्चास्मि नागानां भन्नुभएको छ अर्थात सर्पहरुमा वासुकी नाग मै हुँ, र म नागहरुमा अनन्त (शेष) नाग हुँ ।
भगवान शिवको घाँटीमा नागको माला लगाएको पाइन्छ, भगवान श्रीकृष्ण जन्मिनासाथ वसुदेवले यमुना पार गर्दा नागलेनै छत्र बनी ओत दिएर रक्षा गरेको पाइन्छ ।
भगवान विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीरामचन्द्रका भाई लक्ष्मण र श्रीकृष्णका दाजु बलराम लाई पनि शेषनागको अवतार मानिन्छ ।
महाभारतमा अर्जुनले नागजातिकी कन्या उलुपीसँग विवाह सम्बन्ध गाँसेको उल्लेख छ। बौद्ध दर्शनमा पनि नागलाई संरक्षकको रूपमा स्वीकार गरिएको छ।
शाक्यमुनी बुद्ध र पञ्चबुद्ध मध्येका अमोघसिद्धिलाई फणा फिजाएर नागले संरक्षण गरेको वर्णन बौद्ध ग्रन्थहरूमा छ।
काठमाडौंका स्तुपहरूमा उत्तरतर्फ अभय मुद्रामा बस्ने अमोघसिद्धिलाई नागले फणा फिजाएर रक्षा गरेको दर्शाइन्छ। जैन धर्मावलम्बीहरूको तीर्थङ्करलाई पनि सर्पले फणा फैलाएर घामपानी रोकेको वर्णन पाइन्छ।
यस ब्रह्माण्डमा भगवानले जतिपनि जीव जन्तु , पशु प्राणीहरु श्रृष्टि गर्नुभयो, त्यसको पनि यस पृथ्वीमा केहिन केही भूमिका रहेको हुन्छ , त्यही भूमिका र गुण लाई सम्झेर हामी सनातन धर्मावलम्बीहरुले पशु, पंक्षी, नदी,नाला , रुख, वृक्ष, पहाड पर्वत , जीव, जन्तुहरु लाई मान सम्मान र पूजाआजा गरि कृतज्ञता प्रकट गर्ने गरेका हौं ।
अर्कोतर्फ हाम्रा पर्वहरु धार्मिक पृष्ठभूमिमा उत्पत्ति भए पनि यसको विकास गर्न सामाजिक पक्षसँग जोडिएको छ ।