News

राजेन्द्र महतोसहित ८ जनाको नागरिकता रद्ध, महतोबाट संसदमा आपत्ति

राजेन्द्र महतोसहित ८ जनाको नागरिकता रद्ध, महतोबाट संसदमा आपत्ति


काठमाडौँ । झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएको भन्दै सरकारले राजेन्द्र महतोसहित ८ जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ ।

साउन १६ मा बसेको मन्त्रिपरिषद् बैठकले झूठो विवरण पेश गरेर नेपाली नागरिकता लिएका ८ जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको हो ।

सरकारले राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो, बिन्दे महतो, वैवाहिक अंगिकृतको नागरिकता लिएकी उनकी श्रीमती दानादेवी महतो, दानादेवीकी बुहारी सोसील महतो,  अशोक साह लगायतको नागरिकता रद्ध गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिनुभयो।

महतोको आपत्ति
यसैबीच, राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतोले सरकारले आफूलाई फसाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । सोमबारको संसद बैठकमा बोल्ने क्रममा महतोले आफ्नो नागरिकता खारेज गरेको भनेर सरकारले प्रचार गराएको भन्दै आपत्ति जनाए ।

यसमा आपत्ति जनाउने क्रममा उनले ‘सभामुख कृष्णबहादुर महरा महाडकैत हुन् भन्यो भने के हुन्छ ?’ भनेका थिए । महतोले यस्तो शब्द प्रयोग गरेपछि सभामुख कृष्णबहादुर महराले अनुचित शब्द प्रयोग गरेको भन्दै उक्त शब्द ‘रेकर्ड’बाट हटाउन ‘रुलिङ’ गरेका थिए । 


 खारेज गरिएका नागरिकताको जानकारी दिँदा सरकारका प्रवक्ताले प्रस्ट पहिचान नखुलाइ राजेन्द्र महतोको नागरिकता खारेज गरेको भनी भ्रम उत्पन्न गरेको महतोले आरोप लगाए ।

सांसद महतोले सभामुखको उदाहरण दिएर प्रयोग गरेको शब्दप्रति नेकपाका सांसद कृष्णभक्त पोखरेल र खगराज अधिकारीले आपत्ति जनाएपछि सभामुख महराले संसदको रेकर्डबाट शब्द हटाउन रुलिङ गरेका हुन् । 

विशेष