News

नेपालीमा छोरी र गणितमा छोराको सिकाई राम्रो

नेपालीमा छोरी र गणितमा छोराको सिकाई राम्रो

काठमाडौं । विषयगत नतिजाका आधारमा नेपाली विषयमा छात्रा र गणितमा छात्रको सिकाइ उपलब्धि राम्रो रहेको पाइएको छ । देशभरिका १ हजार ४ सय विद्यालयका २८ हजार ३ सय ८१ विद्यार्थीमाथि गरिएको अध्ययनबाट संस्थागत विद्यालयका १५ प्रतिशत र सामुदायिक विद्यालयको ६ प्रतिशतभन्दा बढी विद्यार्थीले ट्युसन पढ्ने गरेको उल्लेख गरिएको छ ।

केन्द्रले कक्षा ५ का गणित र नेपाली विषयमा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण गरेको थियो । नेपालीमा सय विद्यालयका १४ हजार २ सय ७ विद्यार्थी र गणितमा ७ सय विद्यालयकै १४ हजार १ सय ७४ विद्यार्थीको उपलब्धि परीक्षण गरिएको थियो ।

सिक्नका लागि कसैबाट सहयोग नपाएको बताउनेको औषत नेपालीमा ५ सय १ र गणितमा ५ सय ४ छ । नेपालीमा बुबाबाट भन्दा आमाबाट सिक्ने औषत धेरै छ भने गणितमा आमाको तुलनामा विद्यार्थीले बुबाबाट नजानेको कुरा सिकेको औषत धेरै छ ।

बुबाबाट सिक्ने नेपालीमा ४ सय ९७ र गणितमा ५ सय १ हुँदा आमाबाट सिक्ने नेपालीमा ५ सय २ र गणितमा ५ सय रहेको अध्ययनले देखाएको छ । यस्तै दाजु वा दिदीबाट गणितमा ४ सय ९९ र नेपालीमा ५ सय र साथीहरूबाट नेपालीमा ४ सय ९७ र गणितमा ४ सय ९५ रहेको छ ।

यस्तै ब्राम्हमण÷क्षेत्री नेपाली विषयमा सबैभन्दा राम्रा रहेको अध्ययनले देखाएको छ । काठमाडौँका नेवार समुदायका विद्यार्थीहरू गणितमा सबैभन्दा राम्रा देखिएका छन् । स्नातकोत्तर तह पूरा गरेका अभिभावकका छोराछोरीको नेपाली विषयको सिकाइ उपलब्धि उच्च देखिएको छ । निरक्षर अभिभावकका छोराछोरी गणितमा सबैभन्दा राम्रा देखिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र ९इआरओ०ले कक्षा ५ का विद्यार्थीको सिकाइ उपलब्धिका बारेमा अध्ययन गरेको प्रतिवेदनमा सो विषय उल्लेख गरिएको छ । सो प्रतिवेदन सोमबार सार्वजनिक गरिएको थियो ।

अध्ययनले शिक्षण सेवामा रहेका अभिभावकको सिकाइ उपलब्धि उच्च रहेको देखाएको छ । अर्काको घरमा काम गर्ने अभिभावकका छोराछोरीको सिकाइ उपलब्धि कम रहेको सोही अध्ययनले देखाएको छ । विद्यालयको पढाइसंगै ट्युसन पढ्ने विद्यार्थीको पढाइ स्तर राम्रो रहेको अध्ययनले देखाएको छ ।

ईआरओका अधिकृत श्यामप्रसाद आचार्यले भने, ‘विद्यार्थीको औषत प्रतिशत निकाल्दा ट्युसन पढ्ने विद्यार्थीको स्तर उच्च रहेको देखिएको छ ।’ ईआरओले सिकाइ उपलब्धिको राष्ट्रिय औषतका रुपमा ५ सय अङ्कलाई आधार मानेको छ । अध्ययनले साथी, दिदी, दाइ, बाबु, आमा वा ट्युसनको सहयोग नलिएकाहरुको सिकाइ उपलब्धि राष्ट्रिय औषतभन्दा कम रहेको प्रष्ट गरेको छ ।

त्यसैले अभिभावकको साथ लिएर अध्ययन गर्दा पढाइको स्तर बढेको सावित भएको छ–इआरओका प्रमुख सहसचिव टेकनारायण पाण्डेले भने । अध्ययन प्रतिवेदनले कक्षा ५ मा नेपालीमा प्रदेश २ का विद्यार्थी सबैभन्दा कमजोर र गण्डकी प्रदेशका विद्यार्थी सबैभन्दा अब्बल देखाएको छ । गणितमा सबैभन्दा कमजोर प्रदेश १ र सबैभन्दा अब्बल प्रदेश २ का विद्यार्थीहरू रहेका छन् ।

यस्तै जातजाति तथा घरमा बोलिने भाषाको आधारमा हेर्दा दुवै विषयमा सिकाइ उपलब्धिमा उल्लेखनीय भिन्नता रहेको देखिन्छ । तर छात्रा र छात्रको सन्दर्भमा सिकाइ स्तरको भिन्नता न्यून नै देखिएको प्रतिवेदनको निष्कर्ष छ । सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको प्रतिवेदनमा औल्याइएको छ ।

विद्यालय र विद्यालयको व्यवहार बालमैत्री नभएको उल्लेख गर्दै अध्ययनले विद्यालयमा दुव्र्यवहार महसुस गर्ने विद्यार्थी ४७ प्रतिशत रहेको देखिएकाले बालबालिकाहरुलाई सुरक्षित वातावरण बनाउन र कुनै दुव्र्यवहार हुन नदिन सुझाव दिइएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

नेपाली विषय सिकाई गणित

विशेष