कर्मचारीले सामुहिक राजीनामा दिए स्वीकृत हुने
काठमाडौँ । निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्नेगरी कानूनी व्यवस्था गर्न लागिएको छ । ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा कर्मचारीहरुले सामूहिक राजीनामा दिनुको औचित्य पुष्टि भए सरकारले स्वीकृत गर्ने सहमति भएको हो ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विगतका घटनालाई ध्यानमा राखेर विधेयकमा समावेश गरिएको निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने प्रावधान बुधबार पारित गरिएको हो ।
विभिन्न क्षेत्रका कर्मचारीले सामूहिक राजीनामा दिने धम्की दिँदै सेवा ठप्प पार्ने गरेपछि सरकारले सामुहिक राजीनामा स्वीकृत गर्ने कानूनी व्यवस्था गर्न लागेको जनाइएको छ ।
विधेयकको दफा १२१ मा निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने प्रावधान राखिएको थियो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विगतमा सरकारलाई घेराबन्दीमा पार्ने नियतका साथ गतिविधि हुने भएकाले त्यसलाई नियन्त्रण गर्न सरकारले यस्तो प्रावधान ल्याउनु परेको जानकारी दिनुभयो ।