‘पत्रकार पुडासैनीको मोबाइल अफ थियो, चार्ज गरेर खोल्यौं’–एसपी मल्ल
काठमाडौं । चितवनको नारायणगढस्थित कंगारु होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको साथमा भेटिएको भनिएको अडियो रेकर्डका बारे चितवन प्रहरीले प्रतिक्रिया दिन अस्वीकार गरेको छ । पहिले न्युज २४ को कार्यक्रम सीधा कुरामा काम गरेका पत्रकार पुडासैनीलाई कार्यक्रम प्रस्तोता रवि लामिछानेले मानसिक यातना दिएको भन्ने विषयमा विभिन्न अनलाइनले लेखेका समाचार भाइरल हुन थालेपछि नेपालआजले चितवनका एसपी दानबहादुर मल्लसँग यसबारे कुराकानी गरेको छ ।
कुराकानीका क्रममा एसपी मल्लले कसैलाई आरोप लगाइएको अडियो रेकर्ड भए नभएको विषयमा अहिले केही पनि बोल्न नमिल्ने उल्लेख गरे । उनले भने, ‘त्यस्तो अडियो रेकर्ड भेट्टाउने को पत्रकार हुनुहुँदो रहेछ, हामीसँग पनि भेट गराइदिनुस् न ।’
पत्रकार पुडासैनी मृत्यु प्रकरणबाट बोल्नै नमानेका एसपी मल्लले अलिकति कुरा भने खोलेका छन् । उनले पत्रकार पुडासैनीको साथमा भेटिएको मोबाइल स्वीच अफ भएको अवस्थामा थियो । त्यसलाई चार्ज गरेर आफूहरुले खोलेको जानकारी दिए । उनीसँग टेलिफोनमा भएको छोटो कुराकानी जस्ताको त्यस्तैः
रवि लामिछानेले यातना दिएका कारण आफूले आत्महत्या गरेको भन्ने पत्रकार पुडासैनीको अडियो रेकर्ड छ भनेर समाचारहरु आउन थालेका छन् । के त्यस्तो अडियो मृतक पत्रकारको साथमा भेटिएको छ ?
– के भेटिएको छ, के छैन भन्ने कुरा अहिले भन्न मिल्दैन । किनभने हामी अनुसन्धान गरिरहेका छौं । उनको मृत्यु बारे अनुसन्धानकै क्रममा शव पोष्ट मार्टमका लागि पठाएका छौं । हत्या वा आत्महत्या त्यहाँबाट पनि थाहा हुन्छ । त्यो रिपोर्ट आएपछि कसैलाई नियन्त्रणमा लिनु पर्ने भयो भने त्यसपछि नै भन्न सक्छौं ।
अडियो रेकर्ड भेटिएको हो कि होइन ? त्यसमा रवि लामिछानेको पनि प्रशंग छ कि छैन ?
–अडियो मात्रै होइन, सबै कुरा भेटिएको छ नी । तर अनुसन्धानमा भएकोले भन्न मिल्दैन ।
के अडियो रेकर्ड मोबाइलमै थियो ?
अब होला थाहा छैन ।
त्यो अडियो रेकर्ड सुन्ने मान्छेहरुले भनेको आधारमा समाचारहरु बन्न थालेका छन् नी त ?
हामीले कुनै पनि कुरा कसैलाई दिएका छैनौं । जसले ‘अडियो रेकर्ड सुनेको छु’ भन्छ उसैलाई सोध्नु पर्यो । त्यस्तो सुन्ने मान्छेले हामीलाई पनि त्यो अडियो रेकर्ड उपलब्ध गराइदिए अनुसन्धानमा सजिलो हुन्थ्यो ।
आत्महत्या हो कि के हो कहिले थाहा हुन्छ ?
पोस्टमार्टमको रिपोर्ट आएपछि थाहा हुन्छ ।
सुसाइड नोट छ ?
छैन ।
प्रहरीभन्दा अगाडि नै अडियो वा कुनै प्रमाण अरुले लग्यो कि ?
होइन त्यस्तो । मोबाइलेको कुरा गर्ने हो भने हामीले नै भेटेको हो । सुरुमा अफ थियो । चार्ज गरेर खोलेर हेरको हुन सक्छ । मोबाइलमा भएको विषय बाहिर गएको छैन ।
यी सबै सामग्रीहरू पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.com)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने समाचार सामग्रीहरू पब्लिक न्युज एजेन्सीबाट निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।