वकिलको १ रुपियाँ फी तिर्न नपाई गइन शुष्मा
शुष्मा स्वराजसंग फोनमा संवाद गर्ने अन्तिम व्यक्ति थिए– हरिश साल्वे । उनी पेशाले वरिष्ठ वकिल हुन् । उनको बेलुका ८ बजेर ५० मिनेट जाँदा शुष्मासंग कुराकानी भएको थियो । कुलभूषण जाधवको मुद्दा अन्तर्राष्ट्रिय अदातलमा भारतको पक्ष भएर लडिदिएकोमा साल्वेसंग शुष्माले प्रसन्नता व्यक्त गरेकी थिइन ।
यो मुद्दा लडेवापत साल्वेको वहस फी एक रुपियाँ लिने सहमति थियो । त्यो पैसा साल्वेले अझै पाएका छैनन् । फोन संवाद सम्झेर भावुक साल्वेले भनेका छन– ‘शुष्माजीले त्यो मेरो पारिश्रमिक लिन मलाई बुधबार विहान ६ बजे आफ्नो निवास बोलाउनु भएको थियो । उहाँसंगको संवादमा धेरै भावनात्मक कुरा भएका थिए । फोनमा कुरा गर्दा एकदमै तन्दरुस्त लाग्थ्यो । जब मैले विहान उहाँ नरहेको समाचार सुने स्तब्ध भएँ । उनी कमालकी नेता थिइन । म अहिले केही बोल्ने अवस्थामा छैन् । मैले मेरी बहिनी गुमाएको छु ।’
नेदरल्याण्डको हेगमा फाँसी सम्बन्धी मुद्दामा भारत र पाकिस्तानबीच प्रतिष्ठाको सवाल बनेको यो मुद्दामा साल्वेले भारत पक्षलाई जिताएका थिए । साल्वेले एक रुपियाँ पारिश्रमिक अझै पाएका छैनन् । जुलाईमा बीबीसीसंगको अन्तर्वार्तामा साल्वेले हाँस्दै भनेका थिए– ‘मेरो पारिश्रमिक मैले अझै पाइन । शुष्माजीले फोन गरेर भारत आएपछि पारिश्रमिक दिउँला भन्नु भएको छ ।’
‘भगवानको आशिर्वादले कुलभूषणको मुद्दा मैले सही उद्देश्यका लागि लडें । सफलता पनि प्राप्त भयो ।’ साल्वेले भनेका छन् ।
शुष्मा स्वराज हरिश साल्वे