सुष्मा स्वराज : साहसिली एक महिला
काठमाडाैँ । सन् १९९९ मा भारतीय कंग्रेस आई कि अध्यक्ष सोनिया गान्धीले उत्तर प्रदेशको अमेठी र कर्नाटकको बैल्लारीबाट लोकसभा चुनाव लड्ने घोषणा गरिन् । भाजपाले गान्धीलाई चुनौती दिँदै बेल्लारीमा सुष्मा स्वराजलाई उम्मेदवार बनायो । त्यसबेला स्वराजले भनेकी थिइन् –‘‘ यदि सोनिया गान्धी प्रधानमन्त्री बनेमा म कपाल खौरिएर, भिक्षुणी बनेर जमिनमा बस्नेछु । ’’
सात पटक सांसद र तीन पटक विधायक बनिसकेकी स्वराज भारतमा आफ्नो प्रखर वतृत्वकलाका कारण चर्चित थिइन् । भारतकी भूतपूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ सुषमा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ।
कार्डिएक अरेस्टका कारण उनको निधन भएको हो । भाजपा वरिष्ठ नेता लालकृष्ण आडवाणीको प्रेरणा पाएर पच्चीस वर्षको उमेरदेखि राजनीतिक यात्रा थालेकी स्वराज भारतीय राजनीतिमा एक प्रखर वक्ता, प्रभावशाली महिला नेतृ र कुशल प्रशासक थिइन् । त्यसैले पनि उनलाई दिल्लीकी डी(चार अर्थात् चार लोकप्रिय नेताहरू मध्येकी एक मानिएको छ ।
चार दशकमा ११ पटक चुनाव लडेकी स्वराज सात पटक सांसद भइसकेकी छिन्। उनी संस्कृत, हिन्दी र अङ्ग्रेजीमा धाराप्रवाह बोल्न सक्थिन्।
राजनीतिक करिअर
स्वराजले १९७७ मा हरियाणा विधान सभामा चुनाव जितिन् र जनता पार्टीकी सदस्य बनिन् र २५ वर्षको उमेरमा श्रम राज्यमन्त्री बनेर रेकर्ड राखिन् ।८० को दशकमा भारतीय जनता पार्टी गठनपछि उनी भाजपामा सामेल भईन् ।
अंबालाबाट चुनाव जितेर उनी शिक्षामन्त्री बनिन् । १९९० मा सुष्मा राज्य सभा सदस्य बनिन् र ६ साल कार्यकाल पूरा गरेपछि १९९६ मा दक्षिण दिल्लीबाट लोकसभा चुनाव जितिन् र अटल विहारी बाजपेयी सरकारमा १३ दिने सूचना प्रसारण मन्त्री बनिन् ।
१९९८ मा स्वराजले दिल्लीबाट संसदीय सिट जितिन् र सूचना प्रसारण मन्त्रालयको जिम्मेवारी लिइन् । पछि उनी दिल्लीको पहिलो मुख्यमन्त्री बनिन् । १९९९ मा उनी कांग्रेस अध्यक्ष सोनिया गान्धी विरुद्ध चुनाव लडिन् तर यसपटक उनी सफल हुन सकिनन् ।
सन् २००० मा उनी राज्यसभा सांसद्को रुपमा सदनमा पुगिन् । बाजपेयी मन्त्रीमण्डलमा उनी फेरि सूचना प्रसारण मन्त्री बनिन् ।
सन् २००९ मा उनी मध्यप्रदेशबाट चुनाव जितेर सदनमा पुगेपनि लोकसभामा प्रतिपक्षमा बस्न पुगिन् । २०१४ मा विदिशाबाट चुनाव जितेपछि उनी भारतीय विदेश मन्त्री बन्न पुगिन् ।
प्रखर ओजस्वी वाक्कलाका कारण उनीको तुलना बाजपेयीसँग हुने गथ्र्यो । उनै स्वराजको २०१६ मा किड्नी ट्रान्सप्लान्ट गरिएको थियो । अघिल्लो वर्षमात्रै उनले भारतमा हालै सम्पन्न चुनाव नलड्ने घोषणा गरेकी थिइन् ।